नेपाल टी २० क्रिकेट लिग

नेपाल टी२० लिगः खेल मिलेमतो प्रकरणमा दुई खेलाडी पक्राउ, आजै काठमाडौं ल्याउने तयारी

काठमाडौं । केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी) ले नेपाल टी २० क्रिकेट लिग खेल मिलेमतोमा संलग्न रहेको आरोपमा दुई क्रिकेटरलाई पक्राउ गरेको छ ।

सिआइबीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वअलराउन्डर मेहबुब आलम र वर्तमान राष्ट्रिय टोलीका अलराउन्डर मोहम्मद आदिल अन्सारीलाई पक्राउ गरेको हो । कान्तिपुर टिभी डटकमले जनाए अनुसार मेहेबुबलाई विराटनगर र आदिललाई राजविराजबाट पक्राउ गरिएको हो । उनीहरुलाई आजै काठमार्डौं ल्याउने बताइएको छ ।

खेलका दौरान स्पट फिक्सिङ र बेटिङ समेत भएको भन्दै सिआइबीले अनुसन्धान सुरु गरेको थियो । यसअघि सिआइबीकै अनुसन्धानले प्रतियोगितामा कमर्सियल पार्टनरको रुपमा रहेको भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसको भुमिका समेत शंकास्पद रहेको देखाएको थियो ।

पुस ९ गतेबाट सुरु भएको प्रतियोगिताको लिग चरणअन्तर्गत काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्सबीचको खेल दौरान दुवै टोलीका खेलाडीले पारिश्रमिक नपाएको भन्दै मैदान उत्रन अस्विकार गरेपछि विवादित नेपाल टी २० लिग थप विवादमा तानिएको थियो । 

सो खेलपछि काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लले आफ्ना एक खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको र आफूहरुले यसबारे एन्टी करप्सन युनिट (एसियु)लाई जानकारी गराएको जनाएका थिए । 

मुलुकी अपराध संहिता २०७४ ले खेल मिलेमतो तथा म्याच फिक्सिङसम्बन्धी कसुरमा सजाय निर्धारण गरेको छ । संहिताको दफा ५१ उपदफा ३ मा नेपालमा वा विदेशी मुलुकमा खेल मिलेमतो गरे ३ वर्षसम्म कैद र ३ हजारसम्म जरिवाना तोकेको छ । त्यस्तै  फिक्सिङमा लेनदेन भएको रकम सबै जफलत हुने कानुनी व्यवस्था छ ।
गत मार्चमा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सम्पन्न पपुवा न्युगिनीवरुद्धको खेलसँगै आदिलले नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट डेब्यु गरेका थिए ।

मेहबुबले सन् २००८ मा आइसिसी विश्व क्रिकेट लिग ५ अन्तर्गत मोजाम्बिकविरुद्धको खेलमा कीर्तिमानी १० विकेट लिएका थिए ।