सुदूरपश्चिम राजधानी कप

सुदूरपश्चिम राजधानी कपः कर्णाली प्रदेश र लुम्बिनी प्रदेश सेमिफाइनलमा

  • सीताराम ओझा

धनगढी । कैलालीको धनगढीमा जारी सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको दोस्रो दिन भएका खेलहरुमा कर्णाली प्रदेश र लुम्बिनी प्रदेशले जित निकालेका छन् ।

जितसगै कर्णाली प्रदेश र लुम्बिनी प्रदेश प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरे । हिजो पहिलो दिनको उद्घाटन खेल रात परेपछि रोकिएकोमा आज खेलाइएको खेलमा कर्णाली प्रदेशले जित निकाल्यो ।

लगातारको बर्षाले धनगढी रंगशाला हिलाम्मे भएपछि मैदान परिर्वतन गर्दै फाप्ला मैदानमा भएको खेलमा कर्णाली प्रदेशले सुदूरपश्चिम प्रदेश रातोलाई सडनडेथमा ५-४ ले हरायो । कर्णाली प्रदेशले फाइनल प्रवेशका लागि अब प्रदेश नम्बर १ र बागमती प्रदेशबीचको विजेतासँग खेल्नेछ ।

आज नै भएको दोस्रो खेलमा लुम्बिनी प्रदेशले मधेश प्रदेशलाई हराएको छ । लुम्बिनीले मधेश प्रदेशलाई ४-२ ले हराएको हो । जितसँगै लुम्बिनी प्रदेश पनि सेमिफाइनल पुगेको छ । फाइनल पुग्नका लागि लुम्बिनी प्रदेशले गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेश निलोबीचको विजेतासँग खेल्नेछ । प्रतियोगिताअन्तर्गत भोली सोमबार गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश निलो बीच खेल हुनेछ ।

पिएफए स्पोर्टस क्लब अत्तरियाको आयोजनामा भइरहेको प्रतियोगिता असोज १५ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन भने उप विजेताले ३ लाख रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुले जनही १० हजार र उत्कृष्ट खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको मुख्य प्रवर्धकमा सुदूरपश्चिम खेलकुद परिषद् रहेको छ । यस्तै, सह-प्रायोजकमा नेपाल टेलिकम र राष्ट्रिय खेलकुद परिषद् नेपाल रहेका छन । ‘हाम्रो गौरव सुदूरपश्चिम राजधानी कप’ मुख्य नारा लिएर प्रतियोगिताको सुरुवात गरेको आयोजकले जनाएको छ । यो प्रतियोगिताको चौथो संस्करण हो ।