कञ्चनपुरमा फुटबल प्रशिक्षण अभियान सुरु 

धनगढी, (खेलाडी)- लालझाडी युवा क्लब ११ को आयोजनामा कञ्चनपुरको पुनर्वासमा फुटबल प्रशिक्षण कार्यक्रम सुरु भएको छ । 

क्लबका अध्यक्ष काशीराम बोहराका अनुसार पुनर्वास नगरपालिकाको बाइसेविचवास्थित क्लबको खेल मैदानमा अब देखि निरन्तर निःशुल्क फुटबल प्रशिक्षण गराइनेछ । 

राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म फुटबल खेल्न सक्ने क्षमतावान खेलाडी तयार गर्ने योजनाका साथ क्लबले फुटबल प्रशिक्षण कार्यक्रमको सुरुआत गरेको अध्यक्ष बोहराले खेलाडीलाई बताए ।

महिला तथा पुरुष गरी दैनिक एक सयभन्दा बढि खेलाडीलाई कार्यक्रमअन्तर्गत प्रशिक्षित गराइन थालेको छ । 

प्रशिक्षार्थीबाट शुल्क नलिए पनि क्लबले प्रशिक्षकलाई भने मासिक रुपमा पारिश्रमिकको व्यवस्था गरेको छ । 

प्रशिक्षण कार्यक्रमको अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले उद्घाटन गरेका थिए । क्लबले फुटबल एकेडेमीका रूपमा काम गर्ने उद्देश्य राखेको र त्यसका लागि अनुमति दिन एन्फा अध्यक्ष शेर्पालाई ज्ञापन पत्र समेत बुझाइएको छ । 

कार्यक्रमलाई सम्बोधन गर्दै एन्फा अध्यक्ष शेर्पाले शिक्षा र खेलकुदलाई एकसाथ अगाडी बढाउनु पर्नेमा जोड दिए । 

उनले कोभिड १९ को महामारीको कारण थला परेको खेलकुद गतिविधिलाई चलायमान बनाउन सरकारसँग अनुरोध गरे । 

त्यस्तै, कञ्चनपुरको पुनर्वास नगरपालिकाका उपप्रमुख शारदा शर्मा बिष्टले नगरपालिकाबाट खेलकुद प्रशिक्षणका लागि सक्दो सहयोग गर्न कार्यपालिकाको बैठकमा प्रस्ताव लैजाने बताइन् । 

उपमेयर बिष्टले नगर क्षेत्रका खेलाडीहरूको स्तरोन्नतिका लागि पुनर्वास नगरपालिकाले समेत नीति र योजनामै समावेश गरेको जिकिर गरिन । 

कार्यक्रममा एन्फा उपाध्यक्ष एवं ग्रासरूट फुटबल कार्यक्रमका संयोजक उपेन्द्रमान सिंह, सुदूरपश्चिम प्रदेश फुटबल संघका अध्यक्ष दिनेश श्रेष्ठ, कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेशबहादुर चन्द, पुनर्वास उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णबहादुर तामाङ लगायतले प्रशिक्षण अभियानको प्रशंसा गरे ।