एलपिएलको छैठौं संस्करण माघ अन्तिम सातादेखि

धनगढी, (खेलाडी)- कैलालीको धनगढीमा लिटिल फ्लावर प्रिमियर लिग (एलपिएल) क्रिकेटको छैटौं संस्करण माघ अन्तिम सातादेखि हुने भएको छ । 

लिटिल फ्लावर स्पोर्टस एण्ड इभेन्ट र लिटिल फ्लावर बोर्डिङ स्कुलको आयोजनामा धनगढीमा पछिल्लो पाँच वर्षदेखि हुदैं आएको प्रतियोगिताको छैटौं संस्करण माघ अन्तिम सातादेखि हुने आयोजकले जानकारी गराएको छ । 
 
नेपाली क्रिकेटको भविष्य बलियो बनाउने उद्देश्यसहित गरिँदै आएको बताइएको विद्यालय स्तरीय राष्ट्रिय क्रिकेट लिगमा देशभरका १० वटा विद्यालयले सहभागिता जनाउने भएका छन । 

अघिल्लो संस्करणमा १६ वटा टिम सहभागी हुँदै आएकोमा यसपाली संस्करणमा १० टिम मात्रै सहभागी गराइने लिटिल फ्लावर स्पोर्टस एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले बताए । 

‘अघिल्लो संस्करणसम्म १६ वटा टिमलाई चार समूहमा विभाजन गरेर प्रतियोगिता खेलाइरहेका थियौं । यसपाली १० टिमलाई दुई समूहमा राखेर प्रतियोगिता सञ्चालन गर्छौ,’ पत्रकार सम्मेलनमा अध्यक्ष शाहीले भने, ‘सहभागी टीम र खेलाडीहरुले बढिभन्दा बढि खेल खेल्दै आफ्नो प्रतिभा देखाउन पाउन भनेर यसपाली खेल तालिका परिवर्तन गरेका हौं ।’ 

धनगढी स्थित संघीय प्रहरी एकाई कार्यालयको मैदानमा हुने प्रतियोगिताको विजेता र उपविजेतालाई दिइने पुरस्कार राशी भने सार्वजनिक गरिएको छैन । पुरस्कार राशी पनि चाँडै घोषणा गरिने अध्यक्ष शाहीले बताए । 

कोभिड १९को कहरका बीच अघिल्लो वर्ष सम्पन्न पाचौं संस्करणको विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ पाएका थिए ।

छैटौं संस्करणको उत्कृष्ट खेलाडीले नगद २० हजार रुपैयाँ प्राप्त गर्दा उत्कृष्ट बलर, ब्याट्सम्यान र उदीयमान खेलाडी नगद १०/१० हजार रुपैयाँबाट पुरस्कृत हुने जानकारी गराइएको छ ।

प्रतियोगितामा सहभागी विद्यालयले आफ्ना विद्यार्थीवाहेक अन्य चार जना खेलाडी १९ वर्ष मुनिका राष्ट्रिय खेलाडी समेत राख्न पाउने प्रावधान छ । 

पाचौं संस्करणको उपाधि काठमाडौंको हिमालयन ह्वाइट हाउस कलेजले जितेको थियो । 

प्रतियोगिता आयोजनाको तयारी सुरु भइसकेको आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराए । शाहीका अनुसार सहभागी हुने सबै १० टिमको पनि टुंगो लागिसकेको छ ।

म्यान अफ दी म्याचको प्रायोजक गुरुजी

यसैबीच धनगढीको गुरुजी सटिङ एण्ड सुटिङले प्रतियोगिताको प्रत्येक खेलका म्यान अफ दी म्याच प्रायोजन गरेको छ । 

प्रतियोगिताका हरेक खेललाई गुरुजी सटिङ एण्ड सुटिङले नगद पुरस्कार प्राप्त गर्नेछ । सम्झौता अनुसार गुरुजीले नगद एक लाख तथा ५० हजार बराबरका सामाग्रीहरु प्रदान गर्नेछ । 

प्रायोजन सम्झौता पत्रमा आयोजकका तर्फबाट शाही तथा गुरुजी सटिङ एण्ड सुटिङको तर्फबाट प्रबन्ध निर्देशक सतिश जोशीले हस्ताक्षर गरे ।