इन्डियन प्रिमियर लिग

पञ्जाबले चेन्नईलाई हरायो

काठमाडौं । पञ्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा बुधबार घरेलु टोली चेन्नई सुपर किंग्सविरुद्ध सात विकेटको सहज जित निकालेको छ।

जितसँगै १० खेलमा आठ अंक जोडेको पञ्जाब सातौं स्थानमा उक्लिएको छ । पराजित चेन्नई समान खेलबाट १० अंकका साथ चौथो स्थानमा छ ।

एमए चिदमबरम क्रिकेट रंगशालामा चेन्नईले प्रस्तुत गरेको १६३ रनको लक्ष्य पञ्जाबले १७.५ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।

पञ्जाबका लागि जोनी बेयरिस्टोले ४६, राइली रुसोले ४३, कप्तान साम करनले अविजित २६, शशांक सिंहले खविजित २५ र प्रभसिम्रन सिंहले १३ रन बनाए ।

दोस्रो विकेटका लागि जोनी र राइलीले ६४ तथा पाँचौं विकेटका लागि साम र शशांकले अविजित ५० रनको साझेदारी गरे । चेन्नईका लागि शार्दुल ठाकुर, रिचार्ड ग्लेसन र शिभम दुबेले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १६२ रनको योगफल तयार पार्यो ।

चेन्नईका लागि कप्तान रुतुराज गायकवाडले ४८ बलमा पाँच चौका र दुई छक्काको मद्दतले सर्वाधिक ६२ रनको योगदान गरे । यसैगरी अजिंक्या राहानेले २९,समिर रिज्वीले २१,मोइन अलीले १५ तथा महेन्द्रसिंह धोनीले १४ रन बनाए ।

पहिलो विकेटका लागि रुतुराज र अजिंक्याले ६४ रनको साझेदारी गरे । पञ्जाबका लागि हरप्रीत ब्रार र राहुल चहरले समान दुई तथा कागिसो रबाडा र अर्शदिप सिंहले समान एक विकेट लिए ।