उपकुलपति रनिङ शिल्ड फुटबल प्रतियोगिता २०७८

उपाधिका लागि वन विज्ञान संकाय र पाख्रिबास कलेज भिड्दै

भरतपुर । ‘प्रथम उपकुलपति रनिङ शिल्ड फुटबल प्रतियोगिता २०७८’ को उपाधिका लागि वन विज्ञान संकाय र प्राकृतिक स्रोत व्यवस्थापन कलेज र प्राकृतिक स्रोत व्यवस्थापन कलेज, पाख्रिवास भिड्ने भएका छन् ।

चितवनको रामपुरमा जारी प्रतियोगिताअन्तर्गत मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा जित निकाल्दै वन विज्ञान संकाय र  प्राकृतिक स्रोत व्यवस्थापन कलेज, पाख्रिवासले उपाघि भिड्न्त पक्का गरे ।

मंगलबारको पहिलो सेमिफाइनलमा प्राकृतिक स्रोत व्यवस्थापन कलेज, कटारीलाई ३–० ले हराउदै वन विज्ञान संकाय फाइनलमा प्रवेश गरेको हो । वन संकायका लागि सिजन विष्टले २५औं मिनेटमा पहिलो गोल गरेका थिए । कृष्ण बुढामगर र कैलेश तामाङले थप गोल गरेका थिए ।

दोस्रो सेमिफाइनलबाट प्राकृतिक स्रोत व्यवस्थापन कलेज, टिकापुरलाई ट्राइब्रेकरमा हराउदै प्राकृतिक स्रोत व्यवस्थापन कलेज, पाख्रिवासले फाइनलमा स्थान पक्का गर्यो । २२औं मिनेटमा पाख्रिबासका संगम क्षेत्रीले गोल गरेका थिए । ३७औं मिनेटमा टिकापुरका सिजन शर्माले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । ४७औं मिनेटमा टिकापुरका सिजनले नै गोल गर्दै टिकापुरलाई अग्रता दिलाएका थिए । तर, इन्जुरी समयमा पाख्रिबासका दिवस निरौलाले गोल गर्दा खेल ट्राइब्रेकमा पुगेको थियो । पहिलो सेमिफाइनल खेलबाट कटारी कलेजका सुसन थापा र दोस्रो खेलबाट पाख्रिबास कलेजका राजकुमार पाख्रिन म्यान अफ दि म्याच चुनिए ।

तेस्रो स्थानका लागि बुधबार बिहान टिकापुर कलेज र कटारी कलेजबीच प्रतिस्पर्धा हुनेछ ।

फाइनल खेलमा वन विज्ञान संकाय र पाख्रिबास कलेजबीच बुधबार दिउँसो प्रतिस्पर्धा हुने प्रथम उपकुलपति रनिङ शिल्ड फुटबल प्रतियोगिता आयोजक समितिका संयोजक कृष्णप्रसाद थपलियाले जानकारी दिए । चितवनमा जारी प्रतियोगितामा विश्वविद्यालयको तीन संकाय, आंगिक कलेज, नीजि कलेज गरी १६ वटा टिम सहभागी भएका थिए ।  प्रतियोगिताका विजेताले ५० हजार रुपैयाँ, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, उपविजेताले २५ हजार, तेस्रोले १५ हजार र चोथौले १० हजार पुरस्कार पाउनेछन् । प्रतियोगिताको म्यान अफ दि टुर्नामेट र सर्वाधिक गोलकर्ताले १० हजार तथा म्यान अफ दि म्याच हुनेले २ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक समितिका संयोजक थपलियाले बताए ।