खप्तड गाेल्डकप

पाँच वर्षमा दोस्रो पटक मनाङ बन्यो खप्तड गोल्डकप च्याम्पियन

धनगढी । मनाङ मर्स्याङ्दी क्लबले सुदूर पश्चिम मुख्यमन्त्री खप्तड गोल्डकपको उपाधि जितेको छ । घरेलु फुटबलको महारथी मनाङ दोस्रो पटक यो उपाधि जित्न शनिबार भएको फाइनलमा ए डिभिजन लिगकै प्रतिद्वन्दी फ्रेन्ड्स क्लबलाई ३–१ गोलको नतिजामा पराजित गर्यो ।

धनगढी रंगशालामा शनिबार भएको फाइनलमा रोमाञ्चक जितेको मनाङले पाँच वर्षमा दोस्रो पटक उपाधि उचालेको हो । बिहीबार भएको खेलमा बागमतीलाई पराजित गर्दै फ्रेन्ड्सले फाइनल यात्रा तय गरेको थियो । यस्तै मनाङले हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

शनिबार भएको फाइनलमा मनाङका लागि मोसा अबागाना, दिनेश राजवंशी र ओलावाले आफिजले एक–एक गोल गरे । यस्तै फ्रेन्डसका लागि सहिद स्मारक ए डिभिजन लिगमा सर्वाधिक गोलकर्ता बनेका जमल एन्थोनी फ्रान्कोइसले एक गोल फर्काए ।

जितसँगै मनाङले २१ लाख रूपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता फ्रेन्ड्सले १० लाख हात पार्यो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मनाङका शिशिर लेखी चुनिएका छन् । उनले १ लाख रूपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

मनाङलाई उपाधि दिलाउन उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । ब्रिगेड ब्वाइज क्लबबाट ए डिभिजन लिग खेलेका उनी खप्तडका लागि मनाङमा आबद्द भएका हुन् ।

सर्वाधिक गोलकर्ता फ्रेन्ड्सका जमोउल एन्थोनी फ्रान्कोईस चुनिए । यस्तै मनाङका मौसा अबागाना उत्कृष्ट मिडफिल्डर, फ्रेन्ड्सका सुरज बिके उत्कृष्ट डिफेन्डर, मनाङका गोलकिपर विशाल सुनार उत्कृष्ट गोलकिपर र मनाङकै राजेन्द्र तामाङ उत्कृष्ट प्रशिक्षक चुनिए । विधागततर्फ उत्कृष्ट हुनेले जनही नगद २५ हजार प्राप्त गरेका छन् । प्रतियोगिताको उपाधि मनाङले जितेको छ । फाइनलमा फ्रेन्ड्स क्लबलाई ३(१ ले हराएर मनाङले दोस्रो पटक उपाधि जितेको हो ।