सूर्योदय मेयरकप राष्ट्रिय कराँते प्रतियोगिता

सूर्योदय मेयरकप राष्ट्रिय कराँते प्रतियोगिताको तयारी पूरा

इलाम । इलामको सूर्योदय नगरपालिकामा शनिबारबाट सुरु हुने प्रथम सूर्योदय मेयरकप राष्ट्रिय कराँते प्रतियोगिताको तयारी पूरा भएको छ । सूर्योदय नगरपालिका–१० फिक्कलको कान्दुक फुटसल एरिनामा हुने प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको आयोजक समितिले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

सूर्योदय खेलकुद विकास समितिको आयोजना र सूर्योदय नगर कराँते खेल विकास समितिको संयोजनमा फागुन ३० गतेसम्म चल्ने प्रतियोगितामा सहभागिता जनाउने टिम र अफिसियलहरु आउने क्रम रहेको जिल्ला कराते प्रशिक्षक योगेश चाम्लिङले जानकारी दिए ।

यसअघि नगरपालिका क्षेत्रमा अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदै आएकोमा यस बर्ष कोभिडका कारण ७ वटा प्रदेशको टिमलाई आमन्त्रण गरेर राष्ट्रिय प्रतियोगिता गरिएको चाम्लिङले जनाए ।

‘७ वटा प्रदेशको टिम लगभग आइसकेको छ । गण्डकी र लुम्बिनी प्रदेशको टिम आउँदै गरेको जानकारी पाएका छौ । सुदुरपश्चिमको टिम भोली झापामा समेत खेल्नुपर्ने भएकाले बेलुकासम्म आइपुग्छ ।’

प्रतियोगितामा ११ वटा इभेन्टमा ८० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षक चाम्लिङका अनुसार पुरुष कुमुतेतर्फ ५० केजी देखि ६५ केजी माथिको पाँच तौल समुहका खेलाडीहरुले सहभागिता जनाउनेछन् । त्यसैगरी महिला तर्फ ४५ केजी देखि ६० केजीमाथिको तौल समुहमा प्रतिस्पर्धा हुनेछ ।

कुमुतेमा सहभागि खेलाडीहरु मध्येबाट १÷१ जनाले एकल कातामा प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा ७ वटा प्रदेशसंगै आयोजक सूर्योदय नगरपालिकाको टोली रहेको छ ।

करातेको माध्यमबाट खेल पर्यटनको प्रर्वद्धनका लागि प्रतियोगिता आयोजना गरिएको चाम्लिङले बताए ।

सूर्योदय नगरपालिकाका खेलकुद प्रशिक्षक प्रदिप सैजुका अनुसार प्रतियोगिताको लागि कुल पाँच लाख ६१ हजार खर्च हुनेछ ।

‘प्रतियोगिता सम्पन्न गर्न ६ लाख रुपैया लाग्ने भएपनि अहिले बजेट अभावका कारण कतिपय कार्यक्रमहरुलाई कटौती गरेर ५ लाख ६१ हजारमा सम्पन्न गर्ने लक्ष्य राखेका छौ ।’ सैजुले भने ‘ पाहुना खेलाडी, प्रशिक्षक, अफिसियलहरुका लागि बस्न होटलको व्यवस्था गरिएको छ । खानाको लागि कान्दुक फुटसलमा नै व्यवस्था गरिएको छ ।’

प्रतियोगिता दौरान रेफ्री रिफ्रेसर तालिम समेत राखिएको छ । विश्व कराते महासंघको परिर्वतित नियमको बारेमा बरिष्ठ प्रशिक्षक एवम रेफ्री काउन्सिलका उपाध्यक्ष राम लामाले प्रशिक्षण दिनेछन् ।

प्रतियोगिता विश्व कराते महासंघको नियम अनुसार संचालन हुनेछ । लामाले सहभागि सातवटै प्रदेशका अफिसियल एवम प्रशिक्षकहरुलाई विभिन्न समयमा परिमार्जन भएको नियमहरुको बारेमा जानकारी गराइने लामाले बताए ।

यसअघि २०७५ चैत्र २२ र २३ मा जिल्ला कराँते संघको संयोजनमा सूर्योदय नगरपालिकाको श्रीअन्तुमा सातौ अन्तराष्ट्रिय आमन्त्रण कराँते प्रतियोगिता सम्पन्न भएको थियो । जसमा नेपाल, भारत, भुटान, बंगलादेश र दुवईको टिम सहभागि थिए । कोभिड संक्रमणका कारण विगत ३ बर्ष देखि ठप्प बनेको इलामको कराँते मेयर कप प्रतियोगिताबाट चलायनमान बन्न लागेको हो ।