इटालियन सिरी ए

युरोपको शीर्ष लिगमा इब्राहिमोभिचको तीन सय गोल पूरा

मिलान । इटालियन सिरी ‘ए’ क्लब एसी मिलानका स्ट्राइकर ज्लाटान इब्राहिमोभिचले युरोपको शीर्ष पाँच लिगमा तीन सय गोलको कोसेढुगां पार गरेका छन् ।

शनिबार युडिनेसीसँग मिलानले १-१ को बराबरी खेलेको खेलमा इब्राहिमोभिचले इन्जुरी समयमा गोल गरेका थिए । युरोपको शीर्ष पाँच लिगमा उनको यो चार सय ५०औं उपस्थिति हो ।  

उनले इङ्लिस प्रिमियर लिग, सिरी ‘ए’, स्पेनिस ला लिगा र लिग वान गरी युरोपका शीर्ष पाँच लिग मध्ये चार लिगमा सहभागिता जनाउँदै तीन सय गोल पूरा गरेका थिए ।

 यसअघि पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र अर्जेटिनी स्ट्राइकर लियोनल मेसीले मात्र यो कीर्तिमान रचेका थिए ।

२००४ मा अजाक्सबाट युभेन्टसमा अनुबन्ध भएका स्वीडिस स्टार इब्राहिमोभिचले इन्टर, बार्सिलोना, मिलान, पेरिस सेन्ट जर्मन (पिएसजी) र म्यानचेस्टर युनाइटेडबाट खेलिसकेका छन् । 

इब्राहिमोभिचले युरोपका शीर्ष पाँच लिग मध्ये अहिले सम्म जर्मन बुन्डेसलिगा भने खेलेका छैनन । 

उनले यस सिजन मिलानबाट सात गोल गरेका छन् । गत सिजन मिलानका लागि उनले १५ गोल गरेका थिए भने २०१९-२० सिजनमा १० गोल गरेका थिए ।

इब्राहिमोभचले युभेन्टसबाट २००४ देखी २००६ सम्म ७० खेलमा २३ गोल, इन्टर मिलानबाट २००६ देखी २००९ सम्म ८८ खेलमा ५७ गोल,बार्सिलोनाबाट २००९ देखी २०११ सम्म १६, २०१० देखी २०११ सम्म मिलानमा लोनमा रहँदा २९ खेलमा १४, २०११ देखी २०१२ सम्म मिलानबाटै ३२ खेलमा २८,२०१२ देखी २०१६ सम्म पिएसजीबाट एक सय २२ खेलमा एक सय १३ र २०१६ देखी २०१८ सम्म युनाइटेडबाट ३३ खेलमा १७ गोल गरेका छन् ।