बालोन डी’ओर

बालोन डी’ओर मेसीले जित्ने रामोसको विश्वास

पेरिस । फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का रक्षक सर्जियो रामोसले अर्जेन्टिनी स्टार लियोनल मेसीले बालोन डी’ओर जित्ने विश्वास व्यक्त गरेका छन् ।

सोमबार राति फ्रान्सको पेरिसमा बालोन डी’ओर २०२१ को विजेता घोषणा हुँदैछ । जसमा मेसी सातौं पटक उपाधि जित्ने लक्ष्यमा छन् ।

बालोन डी’ओर २०२१ मा मेसीसँगै बार्यन म्युनिखका स्ट्राइकर रोर्बर्टो लेवान्डोस्की र चेल्सीका मिडफिल्डर जर्जिन्हो लुईस दाबेदारका रुपमा रहेका छन् ।

मेसी र रामोस यसै सिजन स्पेनिस ला लिगा क्लब बार्सिलोना  र रियाल मड्रिडबाट पिएसजीमा अनुबन्ध भएका थिए ।

यसअघि रामोसले पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई समर्थन गर्दै आएका थिए ।

‘अवश्य पनि मेसीले नै बालोन डी’ओर जित्छन् भन्ने मेरो विश्वास छ । म मेरै टोलीको खेलाडीलाई समर्थन गर्छु । मेसीलाई धेरै–धेरै शुभकामना, ’ उनले भने, ‘मेसी राम्रो लयमा छन् र वास्तवमै उनी अद्भुत कला भएका खेलाडी हुन् । उनीसँग एकै टोलीमा खेल्न पाउनु भाग्यको कुरा हो ।’
आइतबार पिएसजीले सेन्ट इटेनीविरुद्ध ३–१ को जित हात पार्दा मेसीले ह्याट्रिक असिस्ट गरेका थिए ।