सहिद स्मारक ‘ए’ डिभिजन लिग

ब्रिगेड ब्वाइज र एनआरटीले अंक बाँडे

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबारको पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) र न्युरोड टिम (एनआरटी) ले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

बराबरीसँगै दुई खेलबाट चार अंक जोडेको बिबिसी तालिकाको चौथो स्थानमा उक्लिएको छ । बिबिसीले पहिलो खेलमा विभागीय टोली एपिएफ क्लबलाई ३–२ ले पराजित गरेको थियो ।

त्यस्तै दुई खेलबाट एक अंक जोडेको एनआरटी भने तालिकाको १२औं स्थानमा छ । एनआरटी पहिलो खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लबसँग २–१ ले पराजित भएको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुवै टोलीले गोलका केही सुन्दर अवसर सृजना गरे पनि फिनिसिङमा चुक्दा अंक बाँड्न बाध्य भए । स्टेफेन बिनोङले ४३औं मिनेटमा पेनाल्टी बक्सको बायाँतर्फ बाट गरेको क्रसलाई दर्शन गुरुङले पोस्टको दिशा दिन नसक्दा एनआरटीले अग्रता लिने सुन्दर मौका गुमाएकोे थियो ।

बिबिसीका दिनेश राईले ४९औं मिनेटमा १८ यार्ड बक्स बाहिरबाट गरेको प्रहार एनआरटीका गोलकिपर अजित प्रजापतिले रोकेका थिए ।

बिबिसीका दिनेशले ६६औं मिनेटमा प्रहार अजितले पुनः विफल पारिदिए ।