सहिद स्मारक ‘ए’ डिभिजन लिग

पुलिसले खुमलटारलाई हरायो

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत बिहिबार सम्पन्न खेलमा एफसी खुमलटारमाथि ३-१ को जित निकालेको छ ।

जितका बाबजुत १३ खेलमा १२ अंक जोडेको पुलिस पुछारमै छ । पराजय ब्यहोरेको खुमलटार समान खेलबाट १३ अंकका साथ १२ औं स्थानमा छ ।

त्रिपुरेश्वरस्थित दशरग रंगशालमा पुलिसलाई जित दिलाउन अहमद हिजाजीले २ तथा मोसेसले १ गोल गरे । खुमलटारका लागि मेसोके ओलोमोउले १ गोल फर्काए ।

खेलको २७ औं मिनेटमा अहमदको गोलमार्फत पुलिसले अग्रता लिएको थियो । रवीशंकर पासवानको कर्नरमा मोसेसको हेडर पोलमा लागेर फर्किदा पेनाल्टी बक्सभित्र अनर्माक रहेका अहमदले वान टचमै गोल गरे ।

५४ औं मिनेटमा मेसोकेले खुमलटारलाई बराबरीमा ल्याए । मेसोकेले राजिव लोप्चको प्रहारलाई पुलिसले राम्रोसँग क्लियर गर्न नसक्दा प्राप्त बललाई पेनाल्टी बक्स भित्रबाट पोस्टको दिशा दिएका थिए ।

८४ औं मिनेटमा मोसेसले गोल गर्दा पुलिस २-१ ले अघि बढ्यो। मेसेसले सर्ज डिकाको पासलाई पेनाल्टी बक्स बाहिरबाट गोलमा परिणत गरेका थिए ।

इन्जुरी समयमा अहमदले पेनाल्टीमार्फत ब्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई ३-१ को जित दिलाए ।  खुमलटारका गोलकिपर देव लिम्बुले पेनाल्टी बक्स भित्र अहमदलाई लडाएपछि पुलिसले पेनाल्टीको अवसर पाएको थियो ।