गोदावरी मेयर कप फुटबल प्रतियोगिता

गोदावरी मेयर कपः ठैव र गोदावरी(ख) क्वार्टरफाइनलमा

ललितपुर । लगातार दोस्रो जित निकाल्दै  वडा न.१४ ठैव र वडा न.३ गोदावरी(ख), ललितपुरको थेच्वमा जारी तेस्रो गोदावरी मेयर कप सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

दुवै टोलीले आआफ्ना समूहमा स्पष्ट ६ अंक प्राप्त गर्दै अन्तिम आठमा सोझै स्थान बनाएका हुन् ।

थेच्वस्थित दुरिखेल मैदानमा बिहिबार सम्पन्न पहिलो खेलमा ठैवले समूह‘बी’अन्तर्गत वडा न.२ विशन्खुनारायण(क)लाई ४-१ ले हरायो । ठैवका लागि कप्तान प्रभात लाखेले ह्याट्रिक गरे । 

खेलको पहिलो हाफमा २ गोल गरेका प्रभातले दोस्रो हाफमा १ गोल  थपे ।  चौथो गोल कुशल महर्जनले गरे । विशन्खुनारायणका लागि दीपेश विकले १ गोल फर्काए  ।

ठैवले समूहको पहिलो खेलमा वडा न.११ चापागाउँ(क) लाई ४-२ ले हराएको थियो । अब ठैवले अन्तिम आठमा दुई उत्कृष्ट उपविजेता टोली मध्ये १ सँग खेल्नेछ ।

दिनको दोस्रो खेलमा गोदावरी (ख) ले समूह ‘सी’अन्तर्गत वडा न.१३ झरुवारासीलाई ३-० ले पराजित गर्यो । गोदावरीको जितमा प्रवीण कुंवर, सुशील लामा र सुरेन्द्र तामाङले समान १ गोल गरे ।

यसअघि गोदावरीले वडा न.११.ख)लाई १-० ले हराएको थियो ।  गोदावरीले अब अन्तिम आठमा समूह ‘इ’को विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

गोदावरी(क) र टिकाभैरवको विजयी सुरुआत

गत संस्करणका उच्च गोलकर्ता तथा सर्वोत्कृष्ट खेलाडी रिपु भुलानको स्तरीय प्रदर्शनमा गोदावरी(क) ले विजयी सुरुआत गरेको छ। गोदावरीले बिहिबारको तेस्रो खेलमा समूह‘डी’ अन्तर्गत वडा न.१० प्याङ्गाउँविरुद्ध ५-० को जित निकालेको हो ।  

गोदावरीका लागि रिपु र सयर तामाङले समान २ तथा दामोदर कुँवरले १ गोल गरे । समूहको दोस्रो खेलमा गोदावरीले अब वडा न.८ डुकुछापको सामना गर्नेछ ।

दिनको चौथो तथा अन्तिम खेलमा वडा न.६ टिकाभैरवले समूह ‘ई’ अन्तर्गत विशन्खुनारायण (ख) माथि ६-१ को फराकिलो जित निकाल्यो ।  

टिकाभैरवका लागि फरवार्ड अनिल लामाले ह्याट्रिक गरे । त्यस्तै कप्तान निराजन थापा, मनिष थापाले समान १ गोल थप्दा १ गोल आत्माघाती  उपहार स्वरुप प्राप्त भयो । 

समूहको दोस्रो खेलमा टिकाभैरवले वडा न.१ गोदामचौर(ख) को सामना गर्नेछ ।

थेच्वको स्थानीय क्लब टु स्टारको आयोजनामा भइरहेको प्रतियोगितामा नगरपालिका भित्र रहेका १४ वडाबाट १८ टोलीको सहभागिता छ ।

प्रत्येक वडाबाट २ वटा टिमसम्म सहभागी रहन पाउने प्रावधान रहेकोमा आयोजकसँगै विसन्खुनारायन, गोदावरी, चापागाउँ र गोदामचौरबाट समान २ टोलीको सहभागिता छ । बाँकी वडाहरु बडिखेल, लेले, टिकाभैरव, दुकुछाप, देविचौर, प्याङ्गाउँ, झरुवारासी र ठैवबाट समान १ टोली छन् ।

१८ टोलीलाई ६ समूहमा विभाजन गरिएको छ । प्रत्येक टोलीले २ खेल खेल्नेछन् । समूह विजेताले सोझै अन्तिम आठमा ठाउँ बनाउनेछन् । त्यस्तै उत्कृष्ट दुई उपविजेता टोली पनि क्वार्टरफाइनल पुग्नेछन् ।

प्रतियोगितामा बुधबार समूह ‘एफ’ र ‘ए’का समान एक खेल हुनेछन् । पहिलो खेलमा दिउँसो १ बजे वडा न.१२ थेच्व(ख) र गोदामचौर (क) तथा  दिउँसो ३ बजे सुरु हुने दोस्रो खेलमा आयोजक थेच्व(क) र वडा न.५ लेलेले प्रतिस्पर्धा गर्नेछन् ।  

प्रतियोगिताको विजेतालाई १ लाख रुपैयाँ र ट्रफी तथा उपविजेतालाई ५० हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ । यसैगरी सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत विभिन्न विद्याका उत्कृष्ट खेलाडीले ट्रफी प्राप्त गर्नेछन् ।

प्रतियोगिताको मुख्य प्रायोजकमा,सहकारी पे, प्लानेट अर्थ सोलुसन र मुख्य प्रबन्धकमा गोदावरी नगरपालिका छ।