स्पेन

तत्काल संन्यास नलिने बुस्केटको संकेत

दोहा । स्पेनका कप्तान  सर्जियो बुस्केटले तत्काल अन्तर्राष्ट्रिय खेलजीवन अघि बढाउने वा नबढाउने निर्णय गर्न हतार नभएको बताएका छन् ।

स्पेन मंगलबार मोरोक्कोसँग पेनाल्टी सुटआउटमा ३-० ले पराजित हुँदै कतार विश्वकप २०२२ को अन्तिम १६ बाट बाहिरिएको थियो । सन् २०१० को विश्व विजेता त्यसयता विश्वकपको कुनै पनि संस्करणको अन्तिम १६ भन्दा माथि उठ्न सकेको छैन । २०१८ मा पनि स्पेनको यात्रा अन्तिम १६ मा आयोजक रुसले पेनाल्टी सुटआउटमै रोकेको थियो ।

स्पेनका लागि पाबलो साराबिया, कार्लोस सोलर र बुस्केट पेनाल्टी सुटआउटमा गोल गर्न असफल भएका थिए ।

३४ वर्षका बुस्केटले मोरोक्कोसँग स्तब्ध भएपछि अन्तर्राष्ट्रिय खेलजीवनमा पूर्णविराम लगाउने अनुमान गरिएको थियो । 

‘मेरो निर्णय के हुन्छ भन्दा पनि टोली कसरी अघि बढ्छ भन्ने कुराले अर्थ राख्छ’, बुस्केटले भने,'हाम्रा लागि आज निकेै पिडादायी दिन रह्यो । हामीले यसबाट पाठ सिक्दै अघि बढ्नुपर्छ । टोलीमा भएका युवा खेलाडीबाट आगामी दिनमा उत्कृष्ट प्रदर्शन हुने आश पलाएको छ । म टोलीमा रहने वा नहरने बारे हतारमा निर्णय लिने पक्षमा छैन ।'