कतार विश्वकप २०२२

रामोसको नाममा कतार विश्वकपको पहिलो ह्याट्रिक, पोर्चुगल क्वार्टरफाइनलमा

काठमाडौं । युवा स्ट्राइकर गोन्सालो रामोसले कतारमा जारी विश्वकप २०२२ मा पहिलो ह्याट्रिक गरेपछि पोर्चुगलले बुधबार राति युरोपेली प्रतिद्धन्द्धी स्विट्जरल्यान्डलाई ६-१ को रवाफिलो नतिजामा हराउँदै कतार विश्वकप २०२२ को अन्तिम आठमा मोरक्कोविरुद्धको भिडन्त पक्का गरेको छ ।

कतारको दोहास्थित लुजाइल रंगशालामा जारी विश्वकप २०२२ को अन्तिम १६ अन्तर्गतको अन्तिम खेलमा रामोसले १७औं मिनेटमा जोआवो फेलिक्सको पासलाई गोलमा परिणत गर्दै पोर्चुगलको खाता खोलेका थिए ।

२१ वर्षका रामोसले पेनाल्टी अत्यन्तै कठिन एङ्गलबाट गरेको प्रहार अविश्वसनीय गोलमा परिणत भएको थियो । रामोसले दोस्रो व्यक्तिगत गोल ५१औं मिनेटमा गरे । डिएगो डालोटको पासलाई उनले छरितो पारामा गोल गरेका थिए ।

प्रतियोगिताको पहिलो ह्याट्रिकका लागि भने रामोसले ६७औं मिनेटमा प्राप्त अवसरलाई गोलमा परिणत गरे । फेलिक्सकै पासमा रामोसले विपक्षी गोलकिपर यान सोमरसँग वान भर्सेज वानको अवस्थामा बललाई हल्का फ्लिक गरेर पोस्टभित्र छिराएका थिए ।

रामोसका पहिलो दुई गोलको बीचमा मध्यान्तर हुन १२ मिनेट बाँकी रहँदा ३९ वर्षका पेपेले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारेका थिए । भेट्रान पेपेले ब्रुनो फर्नान्डेजको कर्नरलाई हेडमार्फत गोलमा परिणत गरेका थिए ।

रामोसका पछिल्ला दुई गोलको बीचमा राफेल गुरेइरोले पोर्चुगलका लागि चौथो गोल गरेका थिए । गुरेइरोले गोलका लागि रामोसकै पास उपयोग गरेका थिए ।

पोर्चुगलको गोल वर्षा इन्जुरी समयसम्मै कायम रहयो । वैकल्पिक खेलाडी राफेल लियोले इन्जुरी समयको दोस्रो मिनेटमा एकल प्रयासमा गरेको प्रहारले फेरि एकपटक स्विस गोलकिपर यान सोमरविरुद्ध सफलता प्राप्त गर्यो । लियो ८७औं मिनेटमा ब्रुनो फर्नान्डेजलाई स्थानान्तरण गर्दै मैदान छिरेका थिए ।

५८औं मिनेटमा म्यानुअल अकान्जीले कर्नरबाट आएको बललाई गोलमा परिणत गरेर स्विस समर्थकका लागि सान्त्वना बटुले ।

आइतबारको क्वार्टरफाइनलमा पोर्चुगलले बुधबारै चाँडोगरि सम्पन्न खेलमा पूर्व च्याम्पियन स्पेनलाई पेनाल्टी सुटआउटमा ३-० ले हराएको मोरक्कोसँग खेल्नेछ । अन्य तीन क्वार्टरफाइनलमा इङ्ल्यान्डले फ्रान्स, ब्राजिलले क्रोएसिया र अर्जेन्टिनाले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछन् । 

जारी विश्वकपको क्वार्टरफाइनल पुग्ने आठमध्ये फाइनलको अनुभव नभएका दुई टोली पोर्चुगल र मोरक्कोमात्र हुन् । अन्तिम आठ पुगेका बाँकी ६ टिमले विश्वकपको फाइनल खेलिसकेका छन् ।

मोरक्कोले २०१० को च्याम्पियन स्पेनलाई हराउँदै विश्वकप इतिहासमै दोस्रो पटक क्वार्टरफाइनलको यात्रा पक्का गरेको थियो । जितपछि अफ्रिकी टोली मोरक्को जारी विश्वकपको क्वार्टरफाइनलमा युरोप र दक्षिण अमेरिकाबाहेकको एकमात्र टोली बनेको थियो ।

पोर्चुगल र स्विट्जरल्यान्डको खेलअघि नै दक्षिण अमेरिकाका पाँच पटकको विजेता ब्राजिल र दुई पटकको च्याम्पियन अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश गरिसकेका छन् । यसैगरी दुई पटकको च्याम्पियन फ्रान्स र पूर्व विजेता इङ्ल्यान्डसँगै क्रोएसिया र नेदरल्यान्ड्सले पनि अन्तिम आठको टिकट काटिसकेका छन् । फ्रान्स, इङ्ल्यान्ड, क्रोएसिया र नेदरल्यान्ड्स सबै युरोपेली टोली हुन् ।