कतार विश्वकप २०२२

पोर्चुगल क्वार्टरफाइनल नजिक, पहिलो हाफमा २-० ले अगाडि

काठमाडौं । युवा खेलाडी गोन्कालो रामोस र भेट्रान पेपेको गोलमा पोर्चुगलले युरोपेली प्रतिद्धन्द्धी स्विट्जरल्यान्डविरुद्धको विश्वकप अन्तिम १६ खेलमा पहिलो हाफसम्म २-० को अग्रता लिएको छ ।

कतारको दोहास्थित लुजाइल रंगशालामा जारी विश्वकप २०२२ को अन्तिम १६ अन्तर्गतको अन्तिम खेलमा रामोसले १७औं मिनेटमा जोआवो फेलिक्सको पासलाई गोलमा परिणत गर्दै पोर्चुगलको खाता खोलेका थिए ।

२१ वर्षका रामोसले पेनाल्टी अत्यन्तै कठिन एङ्गलबाट गरेको प्रहार अविश्वसनीय गोलमा परिणत भएको थियो । ३९ वर्षका पेपेले मध्यान्तर हुन १२ मिनेट बाँकी रहँदा ब्रुनो फर्नान्डेजको कर्नरलाई हेडमार्फत गोलमा परिणत गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे ।

पहिलो हाफको अग्रता कायम राख्न सके पोर्चुगलले आइतबार क्वार्टरफाइनलमा मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ ।

मोरक्कोले बुधबारै चाँडोगरि सम्पन्न खेलमा पूर्व च्याम्पियन स्पेनलाई पेनाल्टी सुटआउटमा ३-० को नतिजामा पराजित गर्दै अन्तिम आठको टिकट काटेको थियो । जितपछि अफ्रिकी टोली मोरक्को जारी विश्वकपको क्वार्टरफाइनलमा युरोप र दक्षिण अमेरिकाबाहेकको एकमात्र टोली बनेको छ ।

पोर्चुगल र स्विट्जरल्यान्डको खेलअघि नै दक्षिण अमेरिकाका पाँच पटकको विजेता ब्राजिल र दुई पटकको च्याम्पियन अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश गरिसकेका छन् । यसैगरी दुई पटकको च्याम्पियन फ्रान्स र पूर्व विजेता इङ्ल्यान्डसँगै क्रोएसिया र नेदरल्यान्ड्सले पनि अन्तिम आठको टिकट काटिसकेका छन् । फ्रान्स, इङ्ल्यान्ड, क्रोएसिया र नेदरल्यान्ड्स सबै युरोपेली टोली हुन् ।