कतार विश्वकप २०२२

मोरक्को अन्तिम आठमा, स्पेन लगातार दोस्रो पटक पेनाल्टीमा असफल

काठमाडौं । गोलकिपर बोनोले पेनाल्टी सुटआउटमा दुई विपक्षी प्रहार जोगाएपछि मोरक्कोले विश्वकप इतिहासमै पहिलो पटक क्वार्टरफाइनलको यात्रा पक्का गरेको छ ।

कतारको दोहास्थित एजुकेसन सिटी रंगशालामा निर्धारित ९० मिनेटको समय तथा थप गरिएको ३० मिनेट अतिरिक्त समयमा पनि दुवै तर्फबाट कुनै गोल नभएपछि पेनाल्टी सुटआउटमा धकेलिएको खेलमा बोनो नायक बनेपछि मोरक्कोले ३-० को जितका साथ पहिलो पटक विश्वकपको अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।

क्वार्टरफाइनलमा मोरक्कोले क्रिस्टियानो रोनाल्डोको पोर्चुगल वा स्विट्जरल्यान्डमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ । पोर्चुगल र स्विट्जरल्यान्डबीचको अन्तिम १६ खेल आजै राति १२ः४५ बजे हुनेछ ।

एक सय २० मिनेटको गोलरहित रस्साकस्सीपछि टाई ब्रेकरमा मोरक्कोका गोलकिपर बोनोले कार्लोस सोलर र स्पेनिस कप्तान सजिर्यो बुस्केट्सको प्रहार जोगाएका थिए । त्यसअघि स्पेनका तर्फबाट पाव्लो साराबियाले प्रहार गरेको पहिलो पेनाल्टी पोलमा ठोक्किएर फर्किएको थियो ।

मोरक्कोका लागि अब्देसअहमद साबिरी र हकिम जियाचले प्रहार गरेका पहिलो दुई पेनाल्टी गोल भएको थियो । बदर बिनुनले प्रहार गरेको तेस्रो प्रहार जोगाएर स्पेनिस गोलकिपर युनाई सिमोनले टोलीको आशा जोगाएका थिए । तर अफ्रिकी टोलीको तर्फबाट अचरफ हकिमीले प्रहार गरेको चौथो पेनाल्टी गोल भएपछि टोली अन्तिम आठ पुग्यो भने स्पेन लगातार दोस्रो विश्वकपको अन्तिम १६ मा पेनाल्टी सुटआउटमा पराजित हुँदै घर फर्कियो ।

निर्धारित तथा अतिरिक्त समयको खेलमा २०१० को विश्वकप विजेता स्पेनले बल पोसेसन ७४ प्रतिसत आफ्नो पक्षमा पारे पनि विपक्षीको पोस्टमा सफल आक्रमण भने गर्न सकेन ।

तुलनात्मक रुपमा जुझारु र प्रभावकारी फुटबल खेलेको मोरक्कोका तर्फबाट विपक्षीको पोस्टमा आधा दर्जन भन्दा बढि आक्रमण भए पनि सफलता भने हात लागेन ।

स्पेनले दोस्रो हाफदेखिको खेल पूर्ण रुपमा नियन्त्रणमा राखेको थियो । त्यसक्रममा टोलीले थुप्रै पटक विपक्षी पोस्टमा आक्रमणको अवसर जुटाए पनि स्पेनिस फरवार्डहरु लगातार निराश भइरहे ।

मोरक्को बेल्जियम, क्रोएसिया र क्यानाडा भएको समूहबाट सात अंकका साथ विजेता भएर नकआउट चरण आइपुगेको थियो । सो क्रममा मोरक्कोले क्यानाडालाई २-१ तथा बेल्जियमलाई २-० को नतिजामा हराउनाका साथै क्रोएसियासँग गोलरहित बराबरी नतिजा निकालेको थियो ।

यसैगरी स्पेनले जर्मनी, कोस्टारिका र जापान रहेको समूहबाट उपविजेताको हैसियतमा अगाडि बढ्ने क्रममा जर्मनीसँग १-१ को बराबरी नतिजा निकालेको थियो । कोस्टारिकामाथि ७-० को फराकिलो जित निकालेको टोली जापानसँग भने २-१ को नतिजामा पराजित भएको थियो । जर्मनीसँग समान चार अंक भए पनि स्पेन गोलअन्तरमा अगाडि रहेका कारणमात्र नकआउट चरणलाई छानिएको थियो ।

स्पेन चार वर्षअघि रुसमा आयोजकसँग पराजित हुँदै अन्तिम १६ बाट बाहिरिएको थियो । निर्धारित तथा अतिरिक्त समयको खेल १-१ को बराबरीमा रोकिएपछि त्यो बेला पनि टाई ब्रेकरमा पराजित हुँदै स्पेन अन्तिम १६ बाट बाहिरिएको थियो । त्यसअघि २०१० को च्याम्पियन टोली २०१४ मा समूह चरणबाटै बाहिरिएको थियो ।

१५औं पटक विश्वकप खेल्दै गरेको स्पेन अन्तिम १६ बाट बाहिरिएको यो चौथो पटक हो । टोलीले आजको खेल जितेको भए सातौं क्वार्टरफाइनललाई छानिने थियो ।

मोरक्कोका लागि भने यो पाँचौं विश्वकप हो । यसअघि १९८६ मा अन्तिम १६ पुग्नु विश्वकपमा टोलीको सबभन्दा ठूलो सफलता थियो । जसलाई स्पेनमाथिको सनसनीपूर्ण जितसँगै टोलीले बराबरी गरेको छ ।