कतार विश्वकप २०२२

स्पेन र मोरक्कोबीको खेल अतिरिक्त समयमा

काठमाडौं । निर्धारित समयमा गोलरहित बराबरी नतिजा निस्किएसँगै पूर्वविजेता स्पेन र अफ्रिकी टोली मोरक्कोबीच कतारको दोहास्थित एजुकेसन सिटी रंगशालामा जारी विश्वकप अन्तिम १६ को खेल अतिरिक्त समयमा धकेलिएको छ ।

२०१० को विश्वकप विजेता स्पेनले बल पोसेसन ७४ प्रतिसत आफ्नो पक्षमा पारे पनि विपक्षीको पोस्टमा सफल आक्रमण भने गर्न सकेको छैन ।

तुलनात्मक रुपमा जुझारु र प्रभावकारी फुटबल खेलेको मोरक्कोका तर्फबाट विपक्षीको पोस्टमा आधा दर्जन आक्रमण भए पनि सफलता भने हात लागेन । स्पेनले पनि दोस्रो हाफमा आक्रमणका केही मौका जुटाएको थियो । तर कुनैमा पनि स्पेनिस फरवार्डहरु सफल हुन सकेनन् ।

मोरक्को बेल्जियम, क्रोएसिया र क्यानाडा भएको समूहबाट सात अंकका साथ विजेता भएर नकआउट चरण आइपुगेको थियो । सो क्रममा मोरक्कोले क्यानाडालाई २-१ तथा बेल्जियमलाई २-० को नतिजामा हराउनाका साथै क्रोएसियासँग गोलरहित बराबरी नतिजा निकालेको थियो ।

यसैगरी स्पेनले जर्मनी, कोस्टारिका र जापान रहेको समूहबाट उपविजेताको हैसियतमा अगाडि बढ्ने क्रममा जर्मनीसँग १-१ को बराबरी नतिजा निकालेको थियो । कोस्टारिकामाथि ७-० को फराकिलो जित निकालेको टोली जापानसँग भने २-१ को नतिजामा पराजित भएको थियो । जर्मनीसँग समान चार अंक भए पनि स्पेन गोलअन्तरमा अगाडि रहेका कारणमात्र नकआउट चरणलाई छानिएको थियो ।

स्पेन चार वर्षअघि रुसमा आयोजकसँग पराजित हुँदै अन्तिम १६ बाट बाहिरिएको थियो । गत संस्करणमा आयोजक रुससँग निर्धारित समय तथा अतिरिक्त ३० मिनेटको समयमा १-१ को बराबरी नतिजा निस्किएपछि स्पेन पेनाल्टी सुटआउटमा ४-३ ले पराजित भएको थियो । त्यसअघि २०१० को च्याम्पियन टोली २०१४ मा समूह चरणबाटै बाहिरिएको थियो ।

१५औं पटक विश्वकप खेल्दै गरेको स्पेनले आजको खेल जितेमा सातौं क्वार्टरफाइनल खेल्नेछ । विश्वकप अहिलेको पद्दतिमा हुन थालेपछि टोली यसअघि तीन पटक अन्तिम १६ बाट बाहिरिएको थियो ।

मोरक्कोका लागि भने यो पाँचौं विश्वकप हो । यसअघि १९८६ मा अन्तिम १६ पुग्नु विश्वकपमा टोलीको सबभन्दा ठूलो सफलता थियो ।

स्पेन र मोरक्कोबीचको विजेताले अन्तिम आठमा पोर्चुगल वा स्विट्जरल्यान्डमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ । पोर्चुगल र स्विट्जरल्यान्डबीचको अन्तिम १६ खेल आजै राति १२ः४५ बजे हुँदैछ ।