कतार विश्वकप २०२२

पहिलो हाफसम्म मोरक्को र स्पेनबीच गोलरहित बराबरी

मोरक्कोका समर्थकहरु

काठमाडौं । पूर्वविजेता स्पेन र अफ्रिकी टोली मोरक्कोले कतारको दोहामा जारी विश्वकप २०२२ को अन्तिम १६ अन्तर्गतको खेलमा पहिलो हाफसम्म गोलरहित बराबरी खेलेका छन् ।

२०१० को विश्वकप विजेता स्पेनले बल पोसेसन ६६ प्रतिसत आफ्नो पक्षमा पारे पनि विपक्षीको पोस्टमा आक्रमण भने गर्न सकेको छैन ।

तुलनात्मक रुपमा जुझारु र प्रभावकारी फुटबल खेलेको मोरक्कोका तर्फबाट विपक्षीको पोस्टमा तीन पटक आक्रमण भए पनि सफलता भने हात लागेन ।

अफ्रिकी टोलीका तर्फबाट नायेफ अगुरेड, सोफ्यान अम्राबत, हकिम जियाच र युसुफ इन नेसिरीका प्रयास असफल हुँदा मोरक्कोका समर्थक निराश बन्नुपर्यो ।

मोरक्को बेल्जियम, क्रोएसिया र क्यानाडा भएको समूहबाट सात अंकका साथ विजेता भएर नकआउट चरण आइपुगेको थियो । सो क्रममा मोरक्कोले क्यानाडालाई २-१ तथा बेल्जियमलाई २-० को नतिजामा हराउनाका साथै क्रोएसियासँग गोलरहित बराबरी नतिजा निकालेको थियो ।

यसैगरी स्पेनले जर्मनी, कोस्टारिका र जापान रहेको समूहबाट उपविजेताको हैसियतमा अगाडि बढ्ने क्रममा जर्मनीसँग १-१ को बराबरी नतिजा निकालेको थियो । कोस्टारिकामाथि ७-० को फराकिलो जित निकालेको टोली जापानसँग भने २-१ को नतिजामा पराजित भएको थियो । जर्मनीसँग समान चार अंक भए पनि स्पेन गोलअन्तरमा अगाडि रहेका कारणमात्र नकआउट चरणलाई छानिएको थियो ।

स्पेन र मोरक्कोबीचको विजेताले अन्तिम आठमा पोर्चुगल वा स्विट्जरल्यान्डमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ । पोर्चुगल र स्विट्जरल्यान्डबीचको अन्तिम १६ खेल आजै राति १२ः४५ बजे हुँदैछ ।