कतार विश्वकप २०२२

साविक विजेता फ्रान्सलाई इतिहास र उच्च लयमा भर, शैली परिवर्तनको योजनामा पोल्यान्ड

काठमाडौं । पोल्यान्डविरुद्ध फ्रान्सको इतिहास प्रभावशाली छ । युरोपेली प्रतिद्धन्द्धीसँग फ्रान्सले पछिल्लो पटक हार भोगेको चार दशक भइसकेको छ । त्यसयता अन्तर्राष्ट्रिय फुटबलमा फ्रान्स सधै पोल्यान्डमाथि हावी हुँदै आएको छ ।

विश्वकप १९८२ मा फ्रान्समाथि ३-२ को जितका साथ पोल्यान्डले तेस्रो स्थान हासिल गरेको थियो । दुई टोलीबीच अहिलेसम्म भएका १६ खेलमा फ्रान्सले आठ पटक जित हासिल गरेको छ भने तीन खेल पोल्यान्डको पक्षमा गएको इतिहास छ । यसैगरी पाँच खेलको नतिजा भने बराबरीमा टुंगिएका छन् ।

युरोपेली फुटबलमा आ–आफ्नै खालको प्रभाव राखेका दुई टोलीबीच १९८२ को विश्वकपपछिको १२औं खेल आज राति हुँदैछ । कतार विश्वकप २०२२ को अन्तिम १६ अन्तर्गत साविक विजेता फ्रान्स र पोल्यान्ड दोहास्थित अल थुमामा रंगशालामा नेपाली समयअनुसार पौने ९ बजे एक-अर्काविरुद्ध मैदान उत्रिँदैछन् ।

पोल्यान्ड र फ्रान्स दुवैले समूह चरणको अन्तिम खेलमा पराजय भोगेका थिए । पहिलो दुई खेलमा अस्ट्रेलिया र डेनमार्कमाथि जित हासिल गर्दै समूह ’डी’को विजेता बनेको फ्रान्सले अन्तिम खेलमा भने सुरुआती एघारमा अधिकांश दोस्रो रोजाइका खेलाडी राख्दा ट्युनिसियासँग पराजित हुन पुगेको थियो ।

त्यस्तै समूह ‘सी’ को उपविजेता पोल्यान्डले पहिलो खेलमा मेक्सिकोसँग गोलरहित बराबरी खेलेको थियो । दोस्रो खेलमा साउदी अरेबियालाई २-० ले पराजित गरेको पोल्यान्ड तेस्रो खेलमा अर्जेन्टिनासँग पराजित भएको थियो । गोल अन्तरका आधारमा मेक्सिकोलाई पछाडि पार्दै पोल्यान्डले नकआउट चरणको यात्रा तय गरेको हो ।

साविक विजेता फ्रान्सले कतार विश्वकपको पूर्वसन्ध्यामा चोटका कारण केही मुख्य खेलाडीहरुलाई गुमाउनु परेको थियो । मिडफिल्डरद्वय एनगोलो कान्टे र पाउल पोग्बालाई चोटका कारण २६ सदस्यीय टोलीमा समेट्न नसकेको फ्रान्सले त्यसपछि लयमा रहेका क्रिस्टोफर एनकुकु, करिम बेन्जेमा र प्रिस्नेल किम्पेम्बेलाई विश्वकप अघि गुमाएको थियो ।

त्यस्तै भरपर्दा लेफ्ट ब्याक लुकास हर्नान्डेज पहिलो खेलमा घाइते भएका थिए । तर अझै पनि फ्रान्ससँग खेलाडीहरुको पर्याप्त विकल्प छ । फरवार्ड किलियन एम्बाप्पे उच्च लयमा छन । त्यस्तै स्ट्राइकर ओलिभिर जिरौड कुनै पनि बेला गोल गर्ने क्षमता राख्छन् ।

पोल्यान्डविरुद्ध पनि प्रशिक्षक डिडियर डेशच्याम्पसले अस्ट्रेलिया र डेनमार्कविरुद्ध पहिलो एघारमा परेका खेलाडीलाई नै मैदान उतार्नेछन् ।

पोल्यान्डविरुद्धको अन्तिम १६ खेलमा कप्तान ह्युगो लोरिसले फ्रान्सबाट सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडीको कीर्तिमानमा लिलियन थुरामसँग बराबरी गर्नेछन् । लिलियन थुरामले फ्रान्सका लागि सर्वाधिक एक सय ४२ अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

त्यस्तै सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमानमा थियरी हेनरीसँग बराबरी गरेका जिरौडसामू पनि कीर्तिमानमा एक्लो नाम लेखाउने मौका हुनेछ । आफ्ना अधिकांश शीर्ष खेलाडीहरुलाई रिचार्ज गरेर फ्रान्स पोल्यान्डविरुद्ध मैदान उत्रिनेछ । पछिल्ला पाँच अन्तिम १६ का खेल जितेको फ्रान्सलाई थप प्रेरणाको आवश्यकता छैन ।

तर फ्रान्सले पोल्यान्डलाई कम आक्ने गल्ती भने गर्ने छैन । विश्व प्रसिद्ध स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई रोक्ने चुनौती फ्रान्ससामू पक्कै पनि हुनेछ । यसअर्थमा फ्रान्सलाई खेलाडीहरुको उर्जा भन्दा धैर्यको बढि आवश्यकता रहनेछ ।

धेरै रक्षात्मक खेलेको भनेर आलोचना भोगिरहेको पोल्यान्डले फ्रान्सविरुद्ध फरक शैलीमा खेल्ने आशा राखेको छ । ‘हामीले राम्रो रक्षात्मक खेल खेलेका छौं । यही कारण हामीले फ्रान्ससँग खेल्ने मौका पायौं । राम्ररी डिफेन्स नगर्ने टोलीहरु घर पुगिसकेका छन् र टेलिभिजनमा विश्वकप हेरिरहेका छन्,’ पोल्यान्डका प्रशिक्षक चेस्लाभ मिच्निविजले भने, ‘रक्षात्मक खेल हाम्रो समूह चरण पार गर्ने रणनीति थियो र अब हामी फरक खेल्न चाहन्छौं ।’

क्वार्टरफाइनल पुग्नका लागि पोल्यान्डको तुलनामा साविक विजेता फ्रान्स बलियो दाबेदार हो । तर कडा मेहनतले प्राविधिक कमजोरीहरु हटाउने आशा राखेको पोल्यान्डबाट राम्रो खेलको अपेक्षा राख्न सकिन्छ ।

स्ट्राइकर लेवान्डोस्की र गोलकिपर वोइजेक जेस्नीको उपस्थिती फ्रान्सविरुद्धको खेलमा पोल्यान्डका लागि प्रेरणादायी हुन सक्नेछ । लेवान्डोस्कीले समूह चरणमा एक गोल मात्र गरेका छन् । समूह चरणमा मात्र होइन, विश्वकपमै त्यो उनको पहिलो गोल हो ।

तर जारी सिजन स्पेनिस ला लिगाका उच्च गोलकर्ता लेवान्डोस्कीले विश्वकपमा आफ्नो पहिलो नकआउट खेल खेलिरहँदा गोल गर्न आफ्नो तर्फबाट कुनै कसर बाँकी राख्ने छैनन् । त्यस्तै पछिल्लो खेलमा अर्जेन्टिनाका लियोनेल मेसीको पेनाल्टी बचाएका जेस्नीका लागि यो भन्दा ठूलो प्रेरणा अरु हुन सक्दैन ।

तर त्यतिले मात्र पनि पोल्यान्डको क्वार्टरफाइनल यात्रा पक्का गर्ने छैन । क्वार्टरफाइनलको टिकट काटनका लागि पुग्न पोल्यान्डले उच्च स्कोरिङ फर्ममा रहेका एमबाप्पे र जिरौडलाई गोल गर्नबाट रोक्न आवश्यक छ ।