इतिहासमा विश्वकप

विश्वयुद्ध अगाडिको विश्वकप

१९३८, फ्रान्स (तेस्रो विश्वकप) 
जुन ४ देखि १९ सम्म
सहभागी टोली– १५
खेल संख्या– १८
गोल संख्या– ८४ (प्रतिखेल ४.७ गोलऔसत)
दर्शक– ३ लाख ७६ हजार (प्रतिखेल २० हजार ८ सय ८८)
विजेता– इटाली
उपविजेता– हंगेरी
तेस्रो स्थान– ब्राजिल
चौथो स्थान– स्विडेन
गोल्डेन जुत्ता– लिओनिडाज (ब्राजिल)

युरोपमा युद्धको बादल मडारिरहेको अवस्थामा फुटबल, विशेष गरी ब्राजिलको कलात्मक फुटबलले फ्रान्सेली दर्शकलाई घामको नयाँ किरण प्रदान गरेको थियो ।

१५ दिने प्रतियोगितामा बलियो र संयमित प्रदर्शन गरेको इटाली विजेता बन्यो । प्रशिक्षक भिटोरिओ पोजोसँगै इटालीको टोलीमा १९३४ को विश्वकप खेलेका चार खेलाडी थिए, जसमा मिडफिल्डरद्वय गुइसेपी मेएजा र जिओभानी फेरारी तथा स्ट्राइकर सिल्भिओ पिओला पनि समावेश थिए । हंगेरीविरुद्धको फाइनलमा इटालीलाई ४-२ को विजय दिलाउँदा पिओलाले २ गोल गरे ।  

विश्व युद्धअगाडि यो विश्व खेलकुदको अन्तिम प्रतियोगिता थियो । तेस्रो विश्वकपको एक वर्षपछि युद्ध सुरु भयो । स्पेनमा गृहयुद्ध चलिरहेको थियो । त्यसैले फ्रान्सको छिमेकी स्पेनलाई प्रतियोगितामा खेल्न दिइएको थिएन ।

त्यस्तै जर्मनीले अस्ट्रियामाथि युद्ध छेडेको कारण विश्वकपमा सहभागी संख्या १६ बाट १५ मा झारिएको थियो । अर्जेन्टिना र उरुग्वेले प्रतियोगितामा सहभागिता नै जनाएनन् । प्रतियोगिता आयोजना गर्ने अवसर नदिएपछि अर्जेन्टिनाले नखेल्ने निर्णय गरेको थियो ।

ब्राजिल र प्रतियोगितामा पहिलो पटक खेलिरहेको पोल्यान्डले वर्षाले प्रभावित स्ट्रासबर्गमा विश्वकपकै एक आकर्षक फुटबल खेलेका थिए । लिओनिडाजको ह्याट्रिकमा ब्राजिलले खेल अतिरिक्त समयमा ६-५ ले जित्यो ।

विश्वकपको एकै खेलमा ४ गोल गर्ने कीर्तिमान बनाए पनि पोल्यान्डका इमेस्ट विलमोवस्की छायाँमा परे । उनको प्रयासमा ३-१ ले पछाडि परे पनि पोल्यान्डले खेल ३-३ को बराबरीमा ल्याएको थियो । त्यसपछि फेरि उनले नै खेल ४-४ को बराबरीमा ल्याए पनि विलमोवस्की पराजित टोलीको सदस्यमै सीमित भए ।

त्यसको तुलनामा लिओनिडाज नायक बने । लचिलो जिउ लिएर खेल्ने हुनाले ब्राजिलमा ‘रबर म्यान’ को उपनाम पाएका लिओनिडाजले प्रतियोगितामा सबैभन्दा बढी ७ गोल गरे ।

पहिलो चरणमा डच इस्ट इन्डिज (अहिलेको इन्डोनेसिया) र क्युबा जस्ता नयाँ टोली पनि थिए । अहिलेसम्म त्यही एक प्रतियोगितामा सीमित भएको डच इस्ट इन्डिजलाई हंगेरीले ६-० को नतिजामा पराजित गर्यो ।

रोमानियालाई ३-३ को बराबरीले स्तब्ध पारेको क्युबाले पुनः खेलाइएको खेलमा २-१ को विजय पायो । दुवै खेलमा सोकोरोले गोल गरे । सोकोरोको अर्थ स्पेनिस भाषामा ‘मद्दत’ हुन्छ । तर उनले स्विडेनसँगको खेलमा कुनै ‘मद्दत’ गर्न सकेनन् र टोली ८-० को नतिजामा निरीह बन्यो ।

स्विट्जरल्यान्डले जर्मनीलाई पराजित गर्नु पहिलो हप्ताको अर्को मुख्य अंश थियो । १-१ को बराबरीमा टुंगिएको त्यो खेल पुनः खेलाइएकोमा स्विस टोली ४-२ ले विजयी भयो ।

जर्मनीका प्रशिक्षक सेप हेरबर्गर थिए । उनले १६ वर्षपछि स्विट्जरल्यान्डमा जर्मनीलाई उपाधि दिलाए । अर्का बेन्चमा रहेका स्विट्जरल्यान्डका अस्ट्रियन प्रशिक्षक कार्ल रापानले सबैको ध्यान तानेका थिए । रापानले रक्षकलाई पनि आक्रमणमा खेलाउने रणनीति प्रयोग गरेका थिए ।

राजनीतिक रंग खेलमा पनि देखियो । जर्मनी र इटालीले बराबरी खेल्दा दर्शकले फासीवाद विरोधी नारा लगाए । जर्मनी सुरुआतमै प्रतियोगिताबाट घर फर्कियो । पोजोको इटालीले शक्तिशाली प्रदर्शनलाई निरन्तरता दियो । यसले १९३४ मा पाएको सफलता घरेलु मैदानको फाइदाले मात्र होइन भन्ने प्रमाणित गर्यो ।

आयोजक बाहिरियो

पिओलाको प्रयासमा नर्वेलाई अतिरिक्त समयमा पराजित गरेको १९३६ को ओलम्पिक च्याम्पियन इटालीले ५९ हजार घरेलु समर्थनको साथ पाएको फ्रान्सलाई हरायो ।

पहिलो दुई विश्वकप आयोजक राष्ट्रले जितेका थिए । तर यस पटक त्यस्तो भएन । पिओलाको दुई गोलमा इटालीले खेल आफ्नो पक्षमा पार्यो । इटालीका तानाशाह बेनिटो मुसोलिनीको निर्देशनपछि इटालीले सो खेल कालो जर्सी लगाएर खेलेको थियो ।

क्वार्टरफाइनलमा भएको त्यही एकमात्र विवादास्पद खेल थिएन । बोर्डेमा ब्राजिल र चेकोस्लोभाकियाबीच १-१ को बराबरीमा टुंगिएको खेलमा तीन रातो कार्ड देखाइएको थियो भने केही खेलाडीको हातखुट्टा पनि भाँच्चियो ।

चेकोस्लोभाकियाका गोलरक्षक फ्रान्टिसेक प्लानिकाको हात भाँचियो । चार वर्षअगाडि प्रतियोगितामा सर्वाधिक गोल गरेका स्ट्राइकर ओल्ड्रिच नेजेडलीको बराबरी गोल गरेपछि खुट्टा भाँचिएको थियो ।

चेकोस्लोभाकियासँग पुनः खेलिएको खेलमा अघिल्लो खेल खेलेको ब्राजिल टोलीमा समेटिएका २ खेलाडीमा लिओनिडाज पनि थिए । उनले २–१ ले जितेको सो खेलमा बराबरी गोल गरी ब्राजिललाई पहिलो पटक सेमिफाइनल पुर्याए ।

मार्सेलमा भएको इटालीविरुद्धको सेमिफाइनलमा ब्राजिलका प्रशिक्षक एडेमार पिमेन्टाले उनलाई टोलीमा नै समावेश गरेनन्, जुन निकै महँगो साबित भयो । निर्णायक खेल इटालीले २-१ ले जित्यो । स्विडेनसँग तेस्रो स्थानका लागि खेलिएको खेलमा लिओनिडाजले नै दुई गोल गरे । युरोपेली दर्शकले उनलाई ‘कालो मोती’ उपनाम दिए । उनी ब्राजिल फर्किएपछि उनको नाममा चकलेट निकालिएको थियो ।

अर्को सेमिफाइनल हंगेरी र स्विडेनबीच भएको थियो । राजा गुस्ताभ पाँचौंको ८०औं जन्मदिन परेकाले स्विडेन स्मरणीय विजय पाउने आशामा थियो । तर प्रतियोगितामा सबैभन्दा बढी गोल गरेको हंगेरीले फाइनल यात्रा तय गर्यो। गिउला सेन्जेलरको ह्याट्रिकमा हंगेरीले खेल ५-१ ले जित्यो ।

इटालीका दुई प्रमुख खेलाडी फेरारी र मेएजाका अगाडि अल्फ्रेड साफरको हंगेरी प्रतियोगिताको दोस्रो उत्कृष्ट मात्र हुनसक्यो ।

इटालीका जिनो कोलाउसीले छैटौं मिनेटमा दिलाएको अग्रतालाई पाल टिकोजले गोल गर्दै दुई मिनेटपछि नै हंगेरीलाई बराबरीमा ल्याए । पिओला र कोलाउसीको गोलमा इटालीले खेलमा ३-१ को अग्रता लियो । मेएजाले सबै तीन गोलमा पास मिलाइदिएका थिए । जिओर्जी सारासीले गोल गर्दै हंगेरीलाई केही आशा देखाएका थिए । पिओलाले दोस्रो गोल थपेपछि इटाली उपाधि रक्षा गर्ने पहिलो टोली बन्यो ।