क्रिकेट

भारतीय टोलीसँग एसपिए पराजित

काठमाडौं । भारतको लखनउमा जारी इन्टरनेशल स्कुल प्रिमियर लिग क्रिकेट प्रतियोगिताको पहिलो खेलमा धनगढीको एसपिए कलेज पराजित भएको छ ।

एसपिए लखनउस्थित मल्टिएक्टिभिटी सेन्टरको मैदानमा शुक्रबार सम्पन्न खेलमा उत्तराखण्डको अमिनेटी पब्लिक स्कुलसँग  एक सय १९ रनले पराजित भएको हो  ।

अमिनेटीले प्रस्तुत गरेको दुई सय २७ रनको लक्ष्य पछ्याएको एसपिए १५.४ ओभरमा एक सय सात रनमा समेटियो । एसपिएका लागि ओपनर सचिन साउदले सर्वाधिक  २६ रन बनाए ।  यसैगरी कप्तान आशिष लुहारले २१, बसन्त कार्कीले १८, विपिन रावलले १२ तथा सूर्य श्रेष्ठ  अविजि १२ रन जोडे  ।

अमिनेटीका सशांक पन्तले चार विनित धनखरले तीन विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अमिनेटीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर दुई सय २६ रनको योगफल तयार पारेको थियो । अमिनेटीका अभिषेक सिवासले ३९ बलमा आठ चौका र  चौका र पाँच छक्का मद्दतमा सर्वाधिक ७४ रन जोडे । यसैगरी विपुल कम्बोजले ४१, अभिषेक शर्माले २८ र जस्मित नैनले १८ रन बनाए ।

एसपिएका सचिन साउदले तीन निशान रेग्मीले दुई तथा विजेन्द्र चन्द र सुर्य श्रेष्ठले समान एक  विकेट लिए ।

एसपिएले अब आइतबार जिम्बाब्वेको लेजेन्ड कम्बाइन्ड स्कुलको टोलीसँग खेल्नेछ ।

सिटी मन्टेश्वरी स्कुलको आयोजनामा भइरहेको प्रतियोगितामा नेपाल, श्रीलंका, ओमान, जिम्बाब्वे र भारतका १६ टोलीले सअभागिता जनाएका छन् ।