प्रधानमन्त्री कप महिला टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिता

सहज जित निकाल्दै सुदूरपश्चिम फाइनलमा

काठमाडौं । कविता कुँवर र कप्तान विन्दु रावलकाे उत्कृष्ट ब्याटिङ प्रेरित सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप महिला टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सुदूरपश्चिमले इटहरस्थित जनता क्रिकेट पार्कमा सम्पन्न पहिलो सेमिफाइनलमा मधेश प्रदेशमाथि एक सय १४ रनको सहज जित निकालेको हो ।  

सुदूरपश्चिमले दिएको एक सय ८१ रनको लक्ष्य पछ्याएको मधेशले २० ओरभ नै ब्याटिङ गरे पनि आठ विकेट गुमाउँदै ६६ रन मात्र बनाउन सक्यो । मधेशका लागि  प्रतिमा शाहले १९, सीमा कुँवरले १६  र अलिशा यादवले १४ रन जोडे ।

सुदूरपश्चिमका लागि मनिषा चौधरी र ऋतु कनोजियाले समान दुई तथा  कविता कुँवर र स्नेहा महराले समन एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै एक सय ८० रनको योगफल तयार पारेको थियो ।  सुदूरपश्चिमका लागि कविताले ५४ बलमा १२ चौका र एक छक्का मद्दतमा सर्वाधिक ७० रन जोडिन् । यसैगरी  विन्दुले ५२ बलमा नौ चौका मद्दतमा अविजित ६० र कविता जोशीले ३५ रन जोडे ।

विन्दुले पहिलो विकेटका लागि कविता कुँवरसँग एक सय २८ तथा दोस्रो विकेका लागि कविता जोशीसँग ५२ रनको साझेदारी गरेकी थिइन् ।

मधेशका लागि भुमि सिंह र सान प्रविनले समान एक विकेट लिए ।

सुदूरपश्चिम समूह ए को विजेता तथा मधेश प्रदेश समूह बी को उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेका थिए ।

सुदूरपश्चिमले समूह चरणका तीन खेलमा शतप्रतिशत नतिजा ल्याएको थियो । यसक्रममा सुदूरपश्चिमले साबिकको विजेता नेपाल एपिएफ क्लबलाई हराएको थियो ।

शुक्रबार नै हुने  दोस्रो सेमिफाइनलमा समूह बी को विजेता प्रदेश एक र समूह ए काे उपविजेता एपिएफ आमने सामने हुँदैछन् ।