बंगलादेश क्रिकेट

ट्वान्टी २० अन्तर्राष्ट्रिय क्रिकेटबाट मुसफिकर रहिमको संन्यास

ढाका । बंगलादेशका भेट्रान विकेटकिपर ब्याटर मुसफिकर रहिमले ट्वान्टी २० अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन् ।

एसिसी एसिया कप २०२२ को समूहचरणबाट बाहिरिएपछि रहिमले अन्तर्राष्ट्रिय ट्वान्टी २० क्रिकेटबाट संन्यासको घोषणा गरेका हुन् । एसिया कपको समूह चरणमा अफगानिस्तान र श्रीलंकासँग पराजित भएपछि बंगलादेश सुपर फोरमा प्रवेश गर्न असफल भएको थियो ।

रहिमले आइतबार सामाजिक सञ्जालमार्फत ट्वान्टी २० क्रिकेटबाट संन्यास लिएको घोषणा गर्दै अबदेखि एकदिवसीय र टेस्ट क्रिकेटमा केन्द्रीत रहने बताए ।

उनले सन् २००५ मा इङ्ल्यान्डविरुद्धको टेस्टबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । रहिमले पहिलो अन्तर्राष्ट्रिय ट्वान्टी २० खेल भने सन् २००६ मा जिम्बाब्वेविरुद्ध खेलेका थिए ।

ट्वान्टी २० मा रहिमले हालसम्म एक सय दुई खेल खेल्दा एक हजार पाँच सय रन बनाएका छन् ।