यु १७ साफ

‘उपाधिबाहेक अरु सोचेको छैन’– प्रशिक्षक श्रेष्ठ

काठमाडौं । यु १७ साफका लागि श्रीलंकामा रहेको नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले टिमको लक्ष्य उपाधि भएको बताएका छन् ।

सोमबारबाट सुरु हुने प्रतियोगिताअघि श्रेष्ठले नेपालले यसअघि फाइनलसम्मको यात्रा तय गरिसकेकाले यसपालि उपाधि जितेर फर्किने बताए ।

‘तयारी राम्रो भइरहेको छ । हामीले डेढ महिनाअघि देखि तयारी सुरु गरेका थियौं । श्रीलंकामा पनि दुई, तीन दिन प्रशिक्षण गर्न पायौं । भारत, भुटानभन्दा पनि यो टिम सबै देशको जुनियर टोली हो,’ श्रेष्ठले भने, ‘उमेरस्तरमा दक्षिण एसियाली सबै टिमको स्तर एकै हो जस्तो लाग्छ । भुटानको ग्रासरुट स्तर धेरै राम्रो छ । भारत त सधै राम्रो टिम हो । हाम्रो लक्ष्य उपाधि नै हो । यसअघि उपविजेता भइसकेका छौं । तर, यसपालि जित्ने नै लक्ष्य छ । त्यही अनुसारको टिम पनि छ र प्रशिक्षण पनि राम्रो भइरहेको छ ।’

यस्तै, नेपाली टोलीका कप्तान प्रशान्त लक्ष्मणले टिम एकतावद्ध रहेको बताए ।

‘तयारी राम्रो भइरहेको छ । टिमको बलियो पक्ष भनेको हाम्रो एकता हो । भुटान र भारत दुवै टिमको ग्रासरुट लेभल राम्रो भएकाले दुवै टिमलाई कठिन प्रतिद्वान्दीको रुपमा लिएका छौं,’ कप्तान प्रशान्तले भने ।

सोमबारबाट सुरु हुने प्रतियोगितामा नेपालले बुधबार भुटानविरुद्ध खेल्नेछ । समूह ‘बी’ को दोस्रो खेलमा नेपालले साविक विजेता भारतको सामना गर्नेछ ।

यसअघि यु-१५ र यु-१६ को उमेर समूहमा हुँदै आएको प्रतियोगिता पहिलो पटक यु-१७ को उमेर समूहमा हुन लागेको हो । नेपाल सन् २०१३, २०१५ र २०१७ गरी तीन पटक फाइनल प्रवेश गरे पनि तीनै पटक भारतसँग निराश भएको थियो ।

समूह ‘बी’मा नेपालसहित भुटान र भारत तथा समूह ‘ए’ मा श्रीलंका र माल्दिभ्स रहेका छन् ।

दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । सेमिफाइनल खेलहरु भदौ २७ र फाइनल खेल भदौ २९ गते हुनेछ ।

नेपाली टोलीको प्रशिक्षकमा उर्जन श्रेष्ठ र व्यवस्थापकमा बाबुकाजी बस्नेत छन् । नेपालले यस प्रतियोगितालाई भियतनाममा अक्टोबरमा हुने एएफसी एसियन कप क्वालिफायरको तयारीको रुपमा लिएको छ ।