यु १६ नेक्सस कप टी२० क्रिकेट

राधेमाईलाई नेक्सस कपको उपाधि

काठमाडौं । अपन राधेमाई युथ क्लब, विरगन्जले यु १६ नेक्सस कप टी२० क्रिकेट सिजन ५ को उपाधि जितेको छ ।

बाग्मती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा भएको प्रतियोगिताको फाइनलमा मंगलबार राधेमाईले आयोजक नेक्सस क्रिकेट एकेडेमीलाई ३९ रनले पराजित गर्यो ।

मूलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङमा आएको राधेमाईले निर्धारित २० ओभरमा सबै विकेट गुमाउनुअघि ८२ रनको योगफल तयार पारेको थियो ।

राधेमाईका सगिर मियाले २१ तथा सफ्वान अलीले १९ रन जोडे । नेक्ससका हिमाल न्यौपाने र चन्दु यादवले समान दुई विकेट लिए ।

८३ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा आएको नेक्ससले ११.४ ओभरमा ४३ रन जोड्दा सबै विकेट गुमायो । नेक्ससका सन्दिप बिष्टले ३० स्कोर गरे ।

‘म्यान अफ द म्याच’ समेत घोषित भएका राधेमाईका अनिश साह कानुले ३.४ ओभरमा पाँच रन खर्चेर ५ विकेट लिए ।

उपाधिसंगै राधेमाईले १ लाख रुपैयाँ पुरस्कार हात पार्यो भने नेक्ससले ७५ हजार नगद पुरस्कारमा चित्त बुझायो ।

राधेमाईका अनिश ‘म्यान अफ द सिरिज’ का साथै उत्कृष्ट बलर पनि घोषित भए । उनले प्रतियोगितामा एक ह्याट्रिकसहित १४ विकेट लिए । प्रतियोगिताभर एक सय १५ रन जोडेका नेक्ससका उत्तम थापा मगर उत्कृष्ट ब्याटर चुनिए । उदीयमान खेलाडीको उपाधि काठमाडौं क्रिकेट टे«निङ सेन्टर (केसीटीसी) का कमल शाहीले जिते ।

विजेतालाई काठमाडौं जिल्ला क्रिकेट संघका उपाध्यक्ष विजय शर्मा, नेक्ससका अध्यक्ष भरतकुमार शाहीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । असार ६ गते सुरु भएको प्रतियोगितामा मोफसलका पाँचसहित १२ टिम सहभागी थिए ।