इयोन मोर्गन

अन्तर्राष्ट्रिय क्रिकेटबाट मोर्गानको सन्यास

लन्डन । इङ्ल्यान्ड क्रिकेटको सीमित ओभरका कप्तान इयोन  मोर्गानले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

३५ वर्षीय  मोर्गानले मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् । १६ वर्षे लामो क्रिकेट करियरमा  मोर्गानले इङ्ल्यान्डलाई पहिलो एकदिवसीय विश्वकपको उपाधि दिलाएका थिए ।

इङ्लिस क्रिकेटको सबैभन्दा सफल मध्येका एक  मोर्गानले एक सय २६ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा इङ्ल्यान्डको कप्तानी सम्हाले । यसमध्ये इङ्ल्यान्डले ७६ खेलमा जित हासिल गरेको थियो ।  मोर्गानले इङ्लिस टिमबाट कुल दुई सय ४८ अन्तर्राष्ट्रिय खेल खेले । जमसमा १४ सतकसहित उनले सात हजार सात सय एक रन बनाए ।

टेस्ट क्रिकेटमा पर्याप्त मौका नपाएका  मोर्गानले १६ खेलमा दुई सतकसहित सात सय रन बनाएका छन् ।

यस्तै,  मोर्गानले ७२ ट्वान्टी २० खेलमा इङ्ल्यान्डको कप्तानी सम्हाले । यसमध्ये ४२ खेल इङ्लिस टिमले जितेको थियो ।

कुल एक सय १५ ट्वान्टी २० अन्तर्राष्ट्रिय खेल खेलेका  मोर्गानले यसमा दुई हजार चार सय ५८ रन बनाए ।

आयरल्यान्डमा जन्मिएका  मोर्गानले क्रिकेट करियरको सुरुआत पनि आयरल्यान्डबाट नै गरेका थिए । उनले आयरल्यान्डबाट सन् २००६ मा स्कटल्यान्डविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । पहिलो खेलमा नै  मोर्गानले ९९ रनको इनिङ खेलेका थिए ।