क्यान नेतृत्वमा जाने लक्ष्यसहित पारसको अप्रत्याशित संन्यास

काठमाडौं, (खेलाडी)- नेपाली क्रिकेटका सर्वाधिक सफल खेलाडी एवं कप्तान पारस खड्काले झण्डै दुई दशक लामो खेलाडी जीवनमा पूर्णविराम लगाउने घोषणा गरेका छन् । 
 
३३ वर्षे अलराउन्डर पारसले मंगलबार आफ्नो १७ वर्ष लामो अन्तर्राष्‍ट्रिय करियरलाई बिट मारेका छन् । अप्रत्यशित रूपमा सन् २०१९ मा नेपालको कप्तानी छाडेका पारसले मंगलबार पनि अप्रत्यशित रूपमा नै अन्तर्राष्‍ट्रिय खेल करियरको अन्त्य गरे । 

उनले कप्तानको जिम्मेवारी त्याग्दा प्रदर्शनमा आफूमाथि दबाब कम गर्ने र नयाँलाई नेतृत्वको अवसर प्रदान गर्ने उद्देश्य बताएका थिए । तर, यस पटक उनले अन्तर्राष्‍ट्रिय करियरबाटै बिदा लिँदा भने पारसले नेपाल क्रिकेट संघ (क्यान) को नेतृत्वमा हस्तक्षेप गर्ने योजना बनाएका छन् । 

२०८० सालको असोजमा हुने क्यानको निर्वाचनमार्फत उनी क्रिकेटको राजनीति अथवा व्यवस्थापनमा आउन चाहन्छन् । राष्‍ट्रिय टोलीबाट खेलिरहँदा त्यो सम्भव नहुने भएकाले पारसले अचानक संन्यासको निर्णय लिएका हुन् । क्यानको विधानअनुसार क्रिकेट करियर छोडेको दुई वर्ष पूरा भएपछि मात्र कुनै पनि खेलाडीले नेपाली क्रिकेटको निर्वाचन भाग लिन पाउनेछन् ।

त्यसैले आगामी असोजपछि उनले कुनै पनि प्रतियोगिता खेलेमा क्यानको निर्वाचनमा भाग लिन पाउने छैनन् । जसको कारण पनि उनले आफ्नो लोभलाग्दो अन्तर्राष्‍ट्रिय क्रिकेट करियर बिट मारेको अनुमान गरिएको छ । 

स्वयम पारसले पनि आफू नेपाली क्रिकेटमा व्यवस्थापकीय भूमिकामा जाने अभिव्यक्ति दिइसकेका छन् । उनले मंगलबार जारी गरेको विज्ञप्तिमा पनि सो कुरा उल्लेख छ ।

‘मैले एक क्रिकेटरको रूपमा देशका लागि धेरै गरिसकेको छु । मन र मस्तिष्कले भ्याएसम्म सबै गरेँ । देशका लागि सधैं राम्रो सफलता ल्याउने मेरो सपना नै थियो,’ पारसले भने, ‘तर अन्तत मेरो सपना नेपाली क्रिकेटको व्यवस्थापनमा सुधार गर्नु हो । मैले पछिल्ला दुई दशक जुन किसिमले मेहनत गरेँ, अब व्यवस्थापनका लागि गर्नेछु । त्यसका लागि सबैको साथ बिना सम्भव छैनन् ।’ 

विश्‍व क्रिकेटका कयौं सफल खेलाडीले देशका लागि खेलेपछि व्यवस्थापकीय या नेतृत्वमा योगदान गरेको उदाहरणहरू छन् । छिमेकी राष्‍ट्र भारतका पूर्वकप्तान सौरभ गांगुली पनि अहिले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) का अध्यक्ष छन् ।
 
तथापि, उनी एक दशक मैदानबाहिरको पर्खाइपछि मात्र बिसिसिआईको नेतृत्वमा पुगेका थिए । बिसिसिआईको नेतृत्वसम्म पुग्‍न पनि उनले बंगाल क्रिकेट एसोसिएसनअन्तर्गतको क्रिकेट डेपलभमेन्ट कमिटीबाट व्यवस्थापकीय यात्रा तय गरेका थिए । 

सन् २००८ मा संन्यास लगत्तै उनले त्यो जिम्मेवारी पाएका थिए । पछि सन् २०१५ देखि २०१९ सम्म उनले बंगाल क्रिकेट एसोसिएसनको नेतृत्वसमेत गरे । तर, बिसिसिआईको अध्यक्ष भएपछि भने उनले त्यो नेतृत्व त्यागे । त्यसबीच गांगुलीले लामै अनुभव बटुले । 

खेलाडी जीवनमा पाएका सफलतालाई हालसम्म गांगुलीले धमिलिन दिएका छैनन् । पारस पनि नेपाली क्रिकेटका गांगुली मानिन्छन् । २०८० सालको क्यानको केन्द्रीय निर्वाचनबाट वा जिल्ला या प्रदेश स्तरबाटै पनि नेतृत्वमा पुगे उनी व्यवस्थापनमा पनि गांगुलीको पथमा हिड्नेछन् । 

देशबाट खेल्नु उनका लागि व्यक्तिगत रूपमा सबैभन्दा ठूलो सफलता रहेको पारसले प्रतिक्रिया दिएका छन् । ‘देशका लागि खेल्नुनै ठूलो सफलता हो । यसका लागि प्रशिक्षक, सहकर्मी, समर्थक, सरोकारवाला र परिवार प्रति कृतज्ञ छु,’ उनको विज्ञप्तिमा उल्लेख छ । 

नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले पनि पारसको संन्यास सही समयमा नभएको र निर्णयले अचम्मित बनाएको बताए । 

‘संन्यासको निर्णय अप्रत्याशित रह्‍यो । उनको निर्णय सही समयमा भएन जस्तो लागेको छ । अलि चाडैं भयो कि भन्‍ने लाग्छ,’ क्यान अध्यक्ष चन्दले भने, ‘तथापि, यो विषय एउटा खेलाडीका लागि व्यक्तिगत निर्णय हो ।’