एन्फा विवाद छानविन गर्न लाखेको संयोजकत्वमा समिति

काठमाडौं, (खेलाडी)- राष्‍ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फटबल संघ (एन्फा) का वरिष्‍ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र राष्‍ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताइरीबीचको विवाद समाधानका लागि ७ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

राखेपले मंगलबार बोर्ड सदस्य पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको हो । छानबिन गरी प्रतिवेदन बुझाउन ७ दिनको समयसीमा पाएको समितिमा बोर्ड सदस्यहरू सुवर्ण श्रेष्‍ठ, चन्द्रवन्दना राई र रेनुका श्रेष्‍ठ तथा राखेप प्रशिक्षण विभाग प्रमुख अर्जुन विक, कानुन शाखाका नारायण अर्याल एवं संघ संस्थाका सरोज पोखरेल सदस्य छन् ।

युवा तथा खेलकुद मन्त्रालयले सोमबार नेम्वाङ र अल्मुताइरीबीचको विवाद छानबिनका लागि राष्‍ट्रिय खेलकुद परिषद् (राखेप)लाई निर्देशन दिएको थियो ।

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले वरिष्‍ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङका कारण आफूले राजीनामा दिन लागेको सामाजिक सन्जालबाट घोषणा गरेका थिए । सामाजिक सन्जालमा केही हप्तादेखि काम गर्न नदिएको आरोप नेम्वाङलाई लगाएका थिए । 

निराधार गम्भीर आरोप लगाएको भन्दै नेम्वाङले एन्फामा छानबिनका लागि निवेदन दिएका थिए । त्यसलगत्तै बसेको आकस्मिक कार्यसमिति बैठकले छानबिनका लागि खेलकुद मन्त्रालयलाई जिम्मा दिने निर्णय गरेको थियो । जसअनुसार मन्त्री नभएको अवस्थामा मन्त्रालयका सचिव केदार न्यौपानेले राष्‍ट्रिय खेलकुद परिषद्लाई छानबिनसहित प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए ।