इन्डियन प्रिमियर लिग

लखनउले मुम्बईलाई हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार घरेलु टोली लखनउ सुपर जाइन्टले मुम्बई इन्डियन्सलाई चार विकेटले पराजित गरेको छ।

जितसँगै १० खेलमा १२ अंक जोडेको लखनउ तेस्रो स्थानमा उक्लिएको छ । पराजित मुम्बई समान खेलबाट ६ अंकका साथ नवौं स्थानमा छ ।

एकान क्रिकेट मैदानमा मुम्बईले प्रस्तुत गरेको १४५ रनको लक्ष्य लखनउले चार बल बाँकी छँदा ६ विकेट गुमाउदै पुरा गर्यो ।

लखनउका लागि मार्कस स्टोइनिसले ४५ बलमा सात चौका र दुई छक्काको मद्दतले सर्वाधिक ६२ रनको योगदान दिए । यसैगरी कप्तान केएल राहुलले २८, दीपक हुड्डाले १८ र निकोलस पुरनले अविजित १४ रन बनाए ।

दोस्रो विकेटका लागि मार्कस र केएलले ५८ रनको साझेदारी गरे । मुम्बईका लागि कप्तान हार्दिक पाण्ड्याले दुई तथा नवान तुषार, जोराल्ड कोएट्जी र मोहम्मद नबीले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा सात विकेट गुमाउँदै १४४ रनको योगफल तयार पार्यो ।

मुम्बईका लागि नेहाल वाधेराले ४६, टिम डेभिडले अविजित ३५, इशान किसनले ३२ र सूर्यकुमार यादवले १० रन बनाए ।

पाँचौं विकेटका लागि नेहाल र इशानले ५३ रनको साझेदारी गरे ।  लखनउका लागि मोसिन खानले दुई तथा मार्कस स्टोइनिस,  नविन उल हक, मायन यादव र रवि बिश्नाई समान एक विकेट लिए ।