यु १९ विश्वकप

कप्तान अक्रमको कीर्तिमानी प्रदर्शनमा पाकिस्तानको जित

एन्टिगोवा । कप्तान कसिम अक्रमको कीर्तिमानी प्रर्दशनप्रेरित पाकिस्तानले आइसिसी यु १९ विश्वकपअन्तर्गत पाँचौ स्थानको लागि भएको खेलमा श्रीलंकालाई दुई सय २८ रनले पराजित गरेको छ ।

१९ वर्षीय कप्तान अक्रम यु १९ विश्वकपको ४५ वर्षे इतिहासमा एकै खेलमा शतक र पाँच विकेट लिने पहिलो खेलाडी बने । उनले श्रीलंकाविरुद्ध ब्याटिङमा एक सय ३५ रन अविजित बनाउँदा बलिङमा पाँच विकेट हात पारे ।

सर भिभियन रिचर्ड क्रिकेट रंगशालामा तीन सय ६६ रनको लक्ष्य पछ्याएको श्रीलंका मात्र एक सय २७ रनमा समेटियो ।

श्रीलंकाका भिनुजा रनपुलले ५३ र कप्तान दुनिथ वेल्लालगेले ४० रन बाहेक अन्य ब्याटरले गतिलो योगदान दिन सकेनन् ।

पाकिस्ताका अक्रमले सर्वाधिक पाँच विकेट लिए । १० ओभर बलिङ गरेको अक्रमले ३७ रन खर्चिए । यस्तै अवाइस अलि, जिसन जमिर, अब्बास अलि र मेहरन मुम्ताजले समान एक विकेट लिए ।

यसअघि टस हारेपछि ब्याटिङमा आएको पाकिस्तानले निर्धारित ५० ओभरमा तीन विकेट गुमाएर तीन सय ६५ रनको योगफल तयार गरेको थियो ।

पाकिस्तानका दुई ब्याटरले शतक प्रहार गरे । कप्तान अक्रमको एक सय ३५ रनको अविजित इनिङसँगै ओपनर हसिबुल्लाह खानले एक सय ३६ रन बनाएका थिए । यस्तै टोलीका खातामा अर्का ओपनर मोहमद सेहजादले ७३ रन थपे ।

सेहजाद र खानले पहिलो विकेटका लागि एक सय ३४ रन साझेदारी गर्दा दोस्रो विकेटका लागि अक्रम र र खाने दुई सय ३० रनको साझेदारी गरेका थिए ।

श्रीलंकाका मथिसा पथिरानाले दुई र रविन डी सिल्भाले एक विकेट लिएका थिए ।