एसेस टेस्ट शृंखला

इङ्ल्यान्डका प्रशिक्षक सिल्भरउड बर्खास्त

लन्डन । गत महिना सम्पन्न अस्ट्रेलियाविरुद्धको एसेस टेस्ट शृंखलामा लज्जास्पद हार व्यहोरेको भन्दै इङ्ल्यान्डले मुख्य प्रशिक्षक क्रिस सिल्भरउडलाई बर्खास्त गरेको छ ।

यसअघि बुधबार मात्र इङ्ल्यान्डले टेस्ट टोलीका प्रवन्ध निर्देशक एस्ले जाइल्सलाई पनि बर्खास्त गरेको थियो । मार्च ८ बाट सुरु हुने वेस्ट इन्डिजविरुद्धको तीन टेस्टको शृंखलाका लागि अन्तरिम प्रशिक्षक नियुक्त गरिने इसिबीले जनाएको छ ।

इङ्ल्यान्डले एसेस टेस्ट शृंखला ४-० ले गुमाएको थियो । यससँगै सिल्भरउडको टोली छनोट र टोलीको ब्याटिङ क्षमतामा प्रश्न उठेको थियो ।

‘प्रशिक्षक रहँदा क्रिसले टोलीको सफलतामा ठूलो भुमिका खेलेका थिए । उनी राम्रा प्रशिक्षक हुन्,’इसिबीका कार्यकारी प्रमुख टम ह्यारिसनले भने, ‘तर अस्ट्रेलिया भ्रमणमा टोलीले राम्रो नतिजा ल्याएन । हामी उनलाई आगामी यात्राका लागि शुभाकामना दिन चाहन्छौ ।’

‘सिल्भरउडकै प्रशिक्षणमा इङ्ल्यान्डले ट्वान्टी२० र एक दिवसीय क्रिकेटको विश्व वरियतामा पहिलो र दोस्रो स्थान हात पार्यो, ह्यारिसनले थपे, ’टेस्टमा पनि हामी चौथो वरियतामा पुग्यौ । उनकै प्रशिक्षणमा हामीले दक्षिण अफ्रिका र श्रीलंका भ्रमणमा टेस्ट शृंंखला जित्यौ । हालका लागि एन्ड्रियु स्ट्राउसले अन्तरिम प्रशिक्षकको नियुक्त गर्नेछन् ।'

‘इङ्ल्यान्डको प्रशिक्षकको जिम्मेवारी पाउनु आफैमा गर्वको विषयो थियो’,सिल्भरउडले भने, ‘’म मेरा खेलाडी र प्रशिक्षण टोलीलाई विशेष धन्यवाद दिन चाहन्छु । इङ्ल्यान्ड टोलीसँगको क्षण मेरा लागि सधै यादगार रहनेछ ।

सिल्भारउड सन् २०१९ अक्टोबरमा इङ्ल्यान्डको प्रशिक्षकमा नियुक्त भएका थिए ।