क्यान

राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र र उपकप्तान दीपेन्द्रमाथि कारबाही, नयाँ कप्तानमा सन्दीप

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार नेपाली राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित चार खेलाडीमाथि कारबाही गरेको छ ।

क्यानले नौं महिना ढिलो गरी गरेको खेलाडी बर्गिकरणमाथि असहमति जनाएका कारण कप्तान र उपकप्तानसहित राष्ट्रिय टोलीका मुख्य खेलाडी सोमपाल कामी र कमलसि‌ंह  ऐरीमाथि अनुशासनको कारबाही गरिएको क्यानले जनाएको छ ।

कारबाहीस्वरुप ज्ञानेन्द्रलाई कप्तान तथा दीपेन्द्रसिंहलाई उपकप्तानको जिम्मेवारीबाट हटाइएको छ । क्यान नेतृत्वले ज्ञानेन्द्रलाई हटाएर उनको ठाउँमा सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय टोलीको कप्तान बनाउने प्रस्ताब गरेको आज बसेको आकस्मिक भर्चुअल बैठकका एक सहभागीले खेलाडीलाई जानकारी गराए । यसका साथै कारबाहीमा परेका खेलाडीलाई २०२२ को पहिलो ६ महिना सेन्ट्रल कन्ट्रयाक्टमा समावेश नगर्ने उल्लेख छ ।

क्यानको नेतृत्वले खेलाडीमाथि कारबाहीको विषयमा छलफल गर्नका लागि आज दिउसो तीन बजेका लागि भर्चुअल माध्यमको आकस्मिक बैठक आह्वान गरेको थियो । जसमा केही सदस्यले आपत्ति जनाउँदै खेलाडीमाथि कारबाहीको प्रस्ताब आएपछि बैठक बहिस्कार गरेको बताइएको छ ।

‘हामीले विश्वकप छनोटको तयारीमा रहँदा सानोतिनो कुरामा अल्झिनुको साटो खेलाडीसँग बसेर समाधान निकाल्नुपर्छ भन्ने भनाई राख्र्यौं । तर उहाँहरुले जबरजस्ती गर्नुभयो,’ क्यानका एक सदस्यले खेलाडीसँग भने, ‘आज तीन बजे बैठक भनेर बिहान १० बजे खबर गरेर जुम लिंक पठाइएको थियो । हामीले त्यसमा पनि आपत्ति जनाएका छौं । विना एजेन्डा यसरी बस्ने बैठकको आधिकारिकतामाथि पनि हाम्रो प्रश्न छ ।’

नेतृत्वले जबरजस्ती खेलाडीमाथि कारबाहीलगायतका निर्णय गरेमा आफूहरुले नोट अफ डिसेन्ट लेख्ने ती सदस्यले बताए ।