इङ्लिस प्रिमियर लिग

आर्सनल चौथो स्थानमा उक्लियो

लन्डन । वेस्ट हमलाई निराश पार्दैै आर्सनल बुधबार इङ्लिस प्रिमियर लिगको शीर्ष चारमा फर्किएको छ ।

इमाइल स्मिथ रो र ग्याब्रियल मार्टिलिनीको गोलमा वेस्ट हममाथि आर्सनलले २-० को जित हात पारेको हो ।

४८औं मिनेटमा मार्टिलिनीले गरेको गोलमा आर्सनलले अग्रता लिएको थियो । ६९औं  मिनेटमा एलेक्सान्डर लाकाजेट्ले पेनाल्टीको अवसर खेर फाल्दा आर्सनलले अग्रता दोब्बर पार्ने अवसर गुमायो । 

खेल सकिन तीन मिनेट बाँकी रहँदा स्मिथले बललाई पोस्टको दिशा दिँदै आर्सनलको अग्रता दोेब्बर पारेका थिए ।

आर्सनल १७ खेलमा २९ अंकसहित चौथो स्थानमा उक्लिएको छ भने वेस्ट हम समान खेलमा २८ अंकका साथ पाँचौ स्थानमा छ । म्यानचेस्टर सिटी ४१, लिभरपुल ३७ र चेल्सी ३६ अंकका जोड्दै क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् ।

प्रिमियर लिग अन्तर्गत बुधबार भएका अन्य खेलमा उल्भरहमटनले ब्राइटनलाई १-० ले पराजित गर्दा क्रिस्टल प्यालेस र साउथहमटनले २-२ को बराबरी खेले  ।