इन्डियन प्रिमियर लिग

पञ्जाबको विजयी सुरुआत

काठमाडौं । दिल्ली क्यापिटल्सलाई चार विकेटले निरास बनाउँदै पञ्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुआत गरेको छ ।

घरेलु मैदान महाराज यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार दिल्लीले प्रस्तुत गरेको १७५ रनको लक्ष्य पञ्जाबले चार बल बाँकी छँदा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

पञ्जाबका लागि साम करनले ४७ बलमा ६ चौका र एक छक्काको मद्दतले सर्वाधिक ६३ रनको योगदान गरे । यसैगरी लियम लिभिङ्गस्टोनले अविजित ३८, प्रभसिम्रन २६ र कप्तान शिखर धवनले २२ रन बनाए ।

छैटौं विकेटका लागि करन र लिभिङ्गस्टोनले ६७ रनको साझेदारी गरे । दिल्लीका लागि खलिल अहमद र कुलदीप यादवले समान दुई तथा इशान्त शर्माले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १७४ रनको योगफल तयार पार्यो ।

शाइ होपले ३३, अविशेक पोरेलले अविजित ३२, डेविड वार्नरले २९, अक्षर पटेलले २१, मिचेल मार्शले २० र कप्तान ऋषभ पन्तले १८ रन बनाए ।

पहिलो विकेटका लागि वार्नर र मार्शले ३९ रनको साझेदारी गरे । पञ्जाबका लागि अर्शदीप सिंह र हर्षल पटेलले समान दुई तथा हरप्रित बरार, कागिसो राबडा र राहुल चहरले समान एक विकेट लिए ।