एसिसी महिला प्रिमियर कप

रुबिनाको ऐतिहासिक सतकमा माल्दिभ्सलाई २२८ रनको लक्ष्य

काठमाडौं । रुबिना क्षेत्रीको ऐतिहासिक सतकप्रेरित नेपालले एसिसी महिला प्रिमियर कपको आफ्नो तेस्रो खेलमा माल्दिभ्ससामू २२८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मलेसियाको क्वालालाम्पुरस्थित वाइएसडी युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २२७ रनको योगफल तयार पार्यो । महिला अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले बनाएको यो सर्वाधिक ठूलो योगफल हो । यसअघि नेपालले सन् २०२१ मा कतारविरुद्ध १६४ रन बनाएको थियो ।

नेपालका लागि रुबिनाले ५९ बलमा १० चौका र पाँच छक्काको मद्दतले अविजित ११८ रनको योगदान गरिन् । यससँगै रुबिना महिला अन्तर्राष्ट्रिय क्रिकेटमा सतक प्रहार गर्ने पहिलो नेपाली ब्याटर बनेकी छन् । यो नेपाली महिला क्रिकेटरले एकै खेलमा बनाएको सर्वाधिक ब्यक्तिगत रन पनि हो । यसअघि कतारविरुद्ध सीता रानामगरले अविजित ८२ रन बनाएकी थिइन् । 

यसैगरी पूजा महतोले ३६ बलमा पाँच चाैका र एक छक्काकाे मद्दतले अविजित ५९, सीता रानामगरले १५ र कविता कुँवरले १३ रन बनाए ।

 पाँचौं विकेटका लागि रुबिना र पूजाले अविजित १६६ रनको साझेदारी गरे । यो नेपालका लागि सर्वाधिक ठूलो रनको साझेदारी हो । 

माल्दिभ्सका लागि शम्मा अलीले तीन र नब्बा नसिमले एक विकेट लिए ।

लगातार दोस्रो जित निकाल्दै यसअघि नै क्वार्टरफाइनलमा स्थान बनाइसकेको नेपाल माल्दिभ्सलाई हराउँदै समूह विजेता बन्ने लक्ष्यमा छ । नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा भुटानलाई समान आठ विकेटले हराएको थियो ।

लगातार दोस्रो हारसँगै क्वार्टरफाइनल दौडबाट बाहिरिसकेको माल्दिभ्स पनि जितका साथ प्रतियोगिताको अन्त्य गर्न चाहन्छ। यसअघि माल्दिभ्सले भुटानसँग ९४ र हङकङसँग १७२ रनको पराजय ब्यहोरेको थियो ।

यी दुईबीच सन् २०१९ मा भएका दुई भेटमा दुवै खेल नेपालले १० विकेटले आफ्नो पक्षमा पारेको थियो ।