इङ्लिस प्रिमियर लिग

प्यालेस रेलिगेसनमा नपर्ने प्रशिक्षक हड्सनको विश्वास

काठमाडौं । लगातारका खराब नतिजाका कारण बढ्दो दबाब झेलिरहेका भेट्रान प्रशिक्षक रोए हड्सनले क्रिस्टल प्यालेसलाई प्रिमियर लिगमा टिकाउन आफू सक्षम रहेकोमा जोड दिएका छन् ।

आफ्नै पूर्व खेलाडी कोनोर गालाघरले दुई गोल गरेपछि गए राति लन्डन डर्बीको पहिलो हाफमै अग्रता लिनाका बावजुद क्रिस्टल प्यालेस चेल्सीसँग ३-१ ले पराजित भएको थियो । नतिजापछि २३ खेलको समाप्तीमा २४ अंकका साथ प्यालेस १५औं स्थानमा छ । जुन रेलिगेसन क्षेत्रको सबभन्दा माथि रहेको एभर्टनभन्दा पाँच अंकले मात्र बढी हो ।

इङ्लिस शीर्ष डिभिजनको लिगबाट बर्खास्तगीमा पर्ने अर्को प्रशिक्षक बन्ने सम्भावनाको निक्कै नजिक रहे पनि हड्सनले भने आफू यो जिम्मेवारीका लागि उपयुक्त रहेको विश्वास व्यक्त गरेका छन् ।

‘हामी रेलिगेसन टार्न सफल हुन्छौं भन्नेमा म विश्वस्त छु । अहिले हामी आफ्नो टोलीका सबभन्दा अनुभवी र राम्रा तीन/चार जना खेलाडीविना मैदान उत्रिइरहेका छौं । सिजनको अन्त्यसम्म उनीहरु बाहिर हुँदैनन्,’ हड्सनलाई उद्यृत गर्दै बिबिसीले जनाएको छ, ‘हामी रेलिगेसनमा पर्छौ भन्ने विषयमा त मैले कल्पना पनि गरेको छैन । आज हामीले जसरी खेल्यौं, त्यसमा बाहिर रहेका खेलाडीको स्तर थप्ने हो भने रेलिगेसन हामीले सोच्नुपर्ने विषय होइन ।’