इङ्लिस प्रिमियर लिग

हालान्डलाई गोलका लागि हतार नगर्न ग्वार्डिओलाको सुझाव

काठमाडौं । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्ना स्ट्राइकर इर्लिङ हालान्डलाई धैर्य राख्दै च्याम्पियन्स लिगअन्तर्गत एफसी कोपेनहेगनविरुद्ध गोलको प्रयास गर्न सुझाएका छन् ।

२३ वर्षे फरवार्डले शनिबार एभर्टनविरुद्धको अवे खेलमा दुई गोल गरेका थिए । सिटी २-० ले विजयी भएको खेलमा दुवै गोलमा उनको नाम लेखिएको थियो । उनले खुट्टाको चोटबाट फर्किएपछि गोल गरेको त्यही पहिलो खेल थियो । बर्नली र ब्रेन्टफोर्डविरुद्धका त्यसअघिका दुई खेलमा उनी गोलरहित थिए ।

ग्वार्डिओलाले पछिल्लो समय गोलका लागि संघर्ष गरे पनि हालान्डलाई सकारात्मक सोचका साथ धैर्य गर्न सुझाउँदै गोलको भोकमा गल्ती नगर्न निर्देशन दिए ।

‘हालान्ड एकजना युवा खेलाडी हुन् । उनी मैदानमा चार/पाँच जना विपक्षीबाट घेरिएर निक्कै कठिन पोजिसनमा खेलिरहेका छन् । तर हाम्रो पूरा टिम सक्षम छ । टिमको तालमेल राम्रो छ । हालान्डमा गोल गर्ने क्षमता भरपुर छ,’ ग्वार्डिओलाले भने, ‘त्यसैले उनले गोलका लागि हतार गर्नुहुन्न । परिस्थितीले उनीबाट धेरैभन्दा धेरै गोल निकाल्छ । त्यसका लागि उनले धैर्य गरेर सकारात्मक फुटबललाई निरन्तरता दिए पुग्छ ।’

हालान्डबाट गोल ननिस्किए पनि मैदानमा उनको उपस्थिती मात्रले टिमलाई फाइदा पुग्ने ग्वार्डिओलाले बताए ।

‘हालान्ड पक्कै पनि धेरै भन्दा धेरै गोल गर्ने खेलाडी हुन् । उनीबाट स्वभाविक रुपमै गोलहरु निस्कन्छन् । तर कहिलेकाँही उनी आफैले गोल गर्न नसक्दा पनि उनको उपस्थितीले टिमलाई फाइदा पुगिरहेको हुन्छ,’ ग्वार्डिओलाले थपे, ‘हालान्डका लागि विपक्षी टिमका चार/पाँच खेलाडी लागेका हुन्छन् । जसले टिममा अरु खेलाडीलाई अवसर सिर्जना गर्छ । हालान्डले सकारात्मक सोचका साथ मैदानमा समय चाँही बिताउनुपर्छ ।’