अझै तीन दिन पानी पर्ने, इपिएलमा अन्योल

काठमाडौं, (खेलाडी)- कीर्तिपुरको त्रिवि अन्तर्राष्टिय क्रिकेट मैदानमा जारी एभरेस्ट प्रिमियर लिग (इपिएल) नेपाली क्रिकेटको सबभन्दा ठूलो प्रतियोगिता हो । 

विभिन्न ६ फ्रेन्चाइज टोलीको सहभागिता रहेको २० ओभर स्वरुपको प्रतियोगिता लगानी, सहभागिका रुपमा देशकै ठूला व्यावसायिक घरानाको उपस्थिती, इपिएलकै लागि विभिन्न टोलीबाट खेल्न काठमाडौं आएका विश्वस्तरीय खेलाडीको सहभागिता, प्रतियोगिताको व्यवस्थापन र चर्चा लगायतका कारण इपिएल नेपाली क्रिकेटको महत्वपूर्ण सम्पत्ति भइसकेको छ ।

तर, गत वर्ष कोभिड १९ महामारीका कारण अन्तिम समयमा रद्ध गरिएको प्रतियोगिता यसपाली भने सुरु भइसकेपछि अचानक बिग्रिएको मौसमका कारण धरापमा परेको छ । 

काठमाडौं किंग्स ११ को टोलीका साइद अफ्रिदी इपिएल खेल्न काठमाडौं आएकामध्ये सबभन्दा ठूलो नाम हो । दुई खेलका लागिमात्र आएका अफ्रिदीको टोलीका दुईमध्ये एक खेल वर्षाका कारण वासआउट भयो । 

पहिलो खेलमा बलिङ गरे पनि रन पछ्याउने क्रममा उनको पालो आउनुअघि नै काठमाडौंले विजयी लक्ष्य हासिल गर्‍यो । दोस्रो खेल वासआउट हुँदा उनी मैदान उत्रिनै पाएनन् । 

पाकिस्तानका पूर्व कप्तान अफ्रिदीको अलराउन्ड प्रदर्शन, अझ खासगरी विस्फोटक ब्याटिङ हेर्ने नेपाली समर्थकको इच्छा यसपालीलाई अधुरै रहयो । 

काठमाडौंकोमात्र होइन, अचानक बिग्रिएको मौसमका कारण भएको अनपेक्षित वर्षाले नेपाली क्रिकेटको बहुप्रतिक्षित प्रतियोगिताका कुल १९ मध्ये चार खेल वासआउट गरिसकेको छ । 

शनिबार सुरु भएको प्रतियोगितामा दुई खेल सम्पन्न भएपछि वर्षा बाधक बन्दै आएको छ । आइतबारको पहिलो खेलमा चितवन चाइगर्सले विराटनगर वारियर्सलाई पराजित गर्‍यो । तर आइतबारै भैरहवा ग्लाडिएटर्स र पोखरा राइनोजबीचको दोस्रो खेललाई वर्षाले बाधा पुर्यायो । 

पोखरा राइनोजले १०.१ ओभरमा सात विकेट गुमाएर ६५ रन बनाएको अवस्थामा वर्षाले रोकेको खेल फेरी सुचारु हुन सकेन । 

आइतबार दिउसोबाट पर्न थालेको वर्षा रातभरी पनि परेपछि सोमबार बिहान घाम लागे पनि भिजेको मैदानका कारण खेल गर्न सम्भव भएन । अफ्रिदीको काठमाडौं र विराटनगरबीचको खेल अन्तत रद्ध भयो । 

तर, विहानैदेखि जिर्ण बनिसकेको वाटर सकर (पानी सोस्ने यन्त्र) चलाउँदा भैरहवा र चितवनबीच हुने भनिएको दोस्रो खेल हुने अपेक्षा थियो । जवकि दोस्रो खेलको समयभन्दा पहिला नै फेरी वर्षा हुन थालेपछि त्यो खेल पनि रद्ध भयो । 

वर्षाका कारण खेल वासआउट हुने क्रमले मंगलबार पनि निरन्तरता पायो । काठमाडौं र पोखराबीचको खेल पनि लगातारको वर्षाका कारण हुन सकेन । ‘त्यसोत सोमबारै भिजेको मैदानका कारण खेल गराउन नसकिएको कीर्तिपुरको मैदानमा रातभर पनि पानी परेपछि मंगलबार खेल हुने सम्भावना यसै न्युन थियो । त्यसमाथि मंगलबार पानी थपिएपछि त्यो सम्भावना झनै टर्‍यो,’ आयोजक कमिटी भन्छ । 

काठमाडौंमा मनसुन बाहिरिइसकेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसम बाहिरिने नियमित समय नै अक्टोबर दुई हो । तर यसपाली अझै बढि समय लाग्ने महाशाखाको अनुमान छ । 

मनसुन जारी रहेको बेला पश्चिम बंगालको खाडी आसपासमा न्युन चापीय क्षेत्रको प्रभाव समेत आएका कारण अझै केही दिन काठमाडौंमा वर्षा हुने अनुमान छ । 

महाशाखाका मौसमविद सजिना शाक्यका अनुसार आगामी तीन दिन लगातार वर्षा हुने सम्भावना छ । 

‘भारतको गुलाब चक्रबातको प्रभाव हटिसकेको छ । जसका कारण मौसम धेरै बिग्रिन पाउने छैन । तर पश्चिम बंगालको खाडी आसपासको न्युन चापीय क्षेत्रको प्रभावका कारण देशभर नै अहिले वर्षा भइरहेको छ,’ शाक्यले खेलाडीसँग भनिन, ‘काठमाडौंमा आजको राति पनि वर्षाको सम्भावना छ । भोलीलाई केहीबेर खुले पनि फेरी वर्षाको सम्भावना रहन्छ । न्युन चापीय क्षेत्रको कारण अझै तीन दिन वर्षाको सम्भावना रहन्छ । त्यसपछि पनि मौसम सुध्रन केही दिन लाग्ने छ।’

कोभिड १९ को महामारीका कारण झण्डै डेढ वर्ष थलिएको नेपाली खेलकुद विस्तारै पूर्ववत अवस्थामा फर्किने क्रममा रहँदा इपिएलको आयोजनाले त्यसमा उर्जा थपेको थियो । 

इपिएलका लागि अफ्रिदी, जिम्बाब्वेका रायन बर्ल र सिकन्दर राजा, बंगलादेशका तमिम इकबाल, श्रीलंकाका उपुल थारंगा, धम्मिका प्रसाद र सेकुगे प्रसन्ना, अफगानिस्तानका मोहम्मद सहजादलगायत विश्व क्रिकेटमा तहल्का मच्चाएका २४ विदेशी खेलाडी काठमाडौं आउँदा नेपाली खेलकुद तरंगित भएको थियो । 

विश्वभरका सयभन्दा बढि देशमा प्रत्यक्ष प्रशारण गर्नका लागि अन्तर्राष्ट्रिय स्तरको टेलिभिजन प्रोडक्सन टिम नेपाल आएको थियो । जसका कारण टेलिभिजनमा पनि उच्च स्तरमा इपिएलका खेलहरु प्रशारण भएका थिए ।

‘तर लगातारको वर्षाले खेल नै हुन सकेका छैनन् । हामीले यसलाई पुर्नतालिका गर्ने प्रयास गरिरहेका छौं । तर अब चार वटा खेल नभएका कारण सबै खेल पुनः खेलाउन पनि सम्भव छैन,’ प्राविधिक कमिटिका एक अधिकारीले भने, ‘प्रतियोगिता असोज २३ मा सकिने हाम्रो तालिका थियो । तर अब सबै खेल गराउने हो भने बीचमा रेस्ट डे पुग्दैन । ढिलो सार्नुपर्छ ।’

प्रतियोगिता ढिलोसम्म सार्न विदेशी खेलाडीका कारण कठिन रहेको उनले स्वीकारे । भने, ‘विदेशी खेलाडीहरुको आफ्नै समयतालिका हुन्छ । त्यसैले हामीले चाहेर पनि ढिला गर्न सजिलो हुँदैन । फेरी मौसम कहिले ठिक हुन्छ भन्ने ग्यारेन्टी पनि छैन । यसबाट नेपाली क्रिकेट र खेलकुदलाई त घाटा भयो नै । योभन्दा बढि इपिएलमार्फत विश्वभर नेपालको जुन ब्रान्डिङ हुने थियो, त्यसमा झन ठूलो क्षति भएको छ ।’