१० महिनापछि प्रशिक्षणमा फर्किए  विमल

काठमाडौं, (खेलाडी)- घुँडाको चोटका कारण १० महिना मैदान बाहिर रहेका नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगर प्रशिक्षणमा फर्किएका छन् । 

हाल यु-२३ टोली ताजाकिस्तानमा हुने एएफसी एसिया कप यु-२३ को बन्द प्रशिक्षणमा छ । प्रतियोगिताका लागि मुख्य प्रशिक्षक बालगोपाल महर्जनले ४८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरिसकेका छन् । विमल हाल सोही टोलीसँग प्रशिक्षणमा समावेश भएका हुन् । यद्धपी  विमल यु-२३ टोलीमा भने छैनन् ।

प्रशिक्षक महर्जनले विमल फिटनेशका लागी व्यक्तिगत रुपमा प्रशिक्षणमा फर्किएको बताए । 

‘विमल कतारबाट फर्किएपछि फिजियोको सल्लाहअनुसार फिटनेशका लागी व्यक्तिगत रुपमा एन्फामा प्रशिक्षणका लागी आएका हुन्’, प्रशिक्षक महर्जनले भने, ‘एएफसी एसिया कप यु-२३ को लागि ताजाकिस्तान जाने टोलीसँगै विमलले पनि प्रशिक्षण गर्नेछन् तर उनी टोलीमा समावेश भएका भने होइनन् ।’

गत पुस तीन गते राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहँदा घुँडाको गम्भीर चोट लागेपछि विमल राष्ट्रिय टोली बाहिर छन् । 

विमलको उपचारको व्यवस्था एन्फाले कतारमा मिलाएको थियो । कतारस्थित एप्सटर अर्थोपेडिक अस्पतालमा फागुन २५ गते विमलको घुँडाको शल्यक्रिया भएको थियो । 
राष्ट्रिय टोलीबाट ३५ खेल खेलेका विमलले आठ गोल गरेका छन् ।