गण्डकीको अपराजित यात्रा निरन्तर

काठमाडौं, (खेलाडी)-  काठमाडौमा जारी राष्ट्रिय महिला तथा पुरुष एनभिए क्लब भलिबल च्याम्पियनसिपमा गण्डकी प्रदेशले मणिमुकुन्द भलिबल क्लबलाई हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । 

नेपाल भलिबल संघको आयोजनामा भएको प्रतियोगितामा भारतीय तीन खेलाडी समावेश गण्डकीलाई कडा टक्कर दिएको मणिमुकुन्दले खेल भने आफ्नो पक्षमा पार्न सकेन ।  निकै प्रतिस्पर्धात्मक बनेको खेलमा गण्डकीले पहिलो सेट २६-२४ ले आफ्नो पक्षमा पार्यो । 

भारतीय खेलाडीलाई कोर्टमा उतारेको गण्डकीलाई दोस्रो सेट जित्न पनि सहज भने भएन । युवा खेलाडीको बाहुल्य रहेको मणिमुकुन्दले दोस्रो सेटमा पनि उस्तै टक्कर दियो । यद्धपी गण्डकीले  दोस्रो सेट ३६-३४ ले आफ्नो बनायो । 

तर तेस्रो र चौथों सेटमा उत्कृष्ट पुनरागमन गर्दै मणिमुकुन्दले गण्डकीलाई २५-१८, २७–२५ मा रोक्यो ।  पाँचौ सेटको सुरुआति समयबाटै अग्रता बनाएको मणिमुकुन्दलाई गण्डकीले १५–१३ मा पछि पारेको थियो ।

समूह ’बी’ को गण्डकीले दुई खेलबाट ६ अंक जोडेको छ । मणिमुकुन्दले अझै अंक जोड्न सकेको छैन । 

आजै हुने खेलमा त्रिभुवन आर्मी र नयाँ बजार तथा एपिएफ र बुढानिकण्ठ भलिबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।