काठमाडौं र पोखराको खेल रद्द

काठमाडौं, (खेलाडी)-  ओसिलो मैदानका कारण एभरेष्ट प्रिमियर लिग (इपिएल) मा काठमाडौं किंग्स इलेभन र पोखरा राइनाेजबीचको खेल रद्द भएको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउसो १२ः१५ बजेबाट सुरु हुने भनिए पनि ओसिलो मैदानका कारण निर्धारित समयमा टस हुन सकेको थिएन ।  अन्ततः खेल सम्भव नदेखिएपछि खेल रद्द भएको हो ।

यसअघि सोमबार काठमाडौं र बिराटनगर वारियर्स तथा भैरहवा ग्ल्याडियटर्स  र  चितवन टाइगर्सबीचको खेल पनि वर्षाका कारण रद्द भएको थियो ।

त्यस्तै आइतबार वर्षाका कारण भैरहवा ग्ल्याडियटर्स र पोखरा राइनोजले अंक बाँडेका थिए ।

इपिएल सुरु भएको चौथो दिन सम्म दुई खेल मात्र सम्भव भएको छ । शनिबार उद्घाटन खेलमा काठमाडौंले ललितपुर पेट्रियट्सलाई सात विकेटले हराएको थियो ।

आइतबार दोस्रो दिनको पहिलो खेलमा चितवनले विराटनगरलाई दुई विकेटले हराएको थियो । आइतबार नै भैरहवा र पोखरा बीचको खेल वर्षाले विथोलेपछि यी दुई टोलीले अंक बाँडेका थिए । त्यसपछि कुनै पनि खेल सुरु हुन सकेको छैन ।