काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिप

नेपाल बंगलादेशसँग पराजित

ढाका । काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल पराजित भएको छ ।   

नेपाल आइतबार सम्पन्न दोस्रे सेमिफाइनलमा घरेलु टोली बंगलादेशसँग ३–० को सोझो सेटमा पराजित भएको हो ।  

ढाकास्थित सहिद शुरवार्दी नेसनल इन्डोर रंगशालामा नेपालले पहिलो सेट १५–२५, दोस्रो सेट २२–२५ तथा तेस्रो सेट १३–२५ ले गुमाएको थियो ।

प्रतियोगितामा नेपालको यो लगातार चौथो पराजय हो । यसअघि नेपालले समूह चरणमा बंगलादेश र श्रीलंकासंग समान ३–०को सोझो सेट तथा किर्गिस्तानसँग ३–२को सेटमा पराजय ब्यहोरेको थियो ।

नेपालले तेस्रो स्थानका लागि सोमबार श्रीलंकाको सामना गर्नेछ । जित निकालेको  बंगलादेशले सोमबार नै हुने फाइनलमा किर्गिस्तानसँग खेल्नेछ ।

किर्गिस्तान आइतबार नै सम्पन्न पहिलो सेमिफाइनलमा श्रींलकालाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल पुगेको थियो ।