इङ्लिस प्रिमियर लिग

स्वभाविक लय कायम राख्ने लक्ष्यमा आर्सनल

लन्डन । कतार विश्वकप २०२२ का कारण रोकिएको इङ्लिस प्रिमियर लिगका खेलहरु आजबाट सुरु हँदैछ ।

शीर्ष स्थानको आर्सनलले वेस्ट हमको सामना गर्नेछ । दोस्रो स्थानको म्यानचेस्टर सिटीले लिड्स र म्यानचेस्टर युनाइटेडले नटिङघम फरेस्टलाई आतिथ्य गर्नेछ । 

आर्सनल २००४ पछि पहिलो पटक प्रिमियर लिगको उपाधि जित्न चाहन्छ । आर्सनल प्रिमियर लिगको १४ मध्ये १२ खेलमा जित निकाल्न सफल भएको थियो । मिकेल अर्टेटाको टोली ३७ अंकसहित शीर्ष स्थानमा छ । जुन दोस्रो स्थानको सिटीभन्दा पाँच अंक बढी हो । यद्धपी गाब्रियल जिजसको अनुपस्थिती भने आर्सनलका लागि महंगो साबित हुन सक्छ ।

विश्वकपअन्तर्गत ब्राजिलका जिजस क्यामरुनविरुद्धको समूह चरणको अन्तिम खेलमा घाइते भएका थिए । उनको घुँडामा चोट लागेको थियो । उनको घुँडाको शल्यक्रिया गरिएको र उनी तीन महिना मैदान बाहिर रहने बताइएको छ ।

चौथो स्थानको टोटनहमले ब्रेन्टफोर्डको भ्रमण गर्नेछ । टोटनहमले १९४८ पछि ब्रेन्टफोर्डलाई नतिजा सुम्पिएको छैन । ब्रेन्टफोर्डविरुद्धको पछिल्लो १३ खेलमा टोटनहम अपराजित रहँदै आएको छ ।

त्यस्तै क्रिस्टल प्यालेसले सेलहर्स पार्कमा फुलमहमलाई आतिथ्य गर्नेछ । प्यालेसले २०१३ अक्टोबरपछि फुलहमलाई नतिजा सुम्पिएको छैन । 
यता लिभरपुलले भने एस्टन भिल्लाको सामना गर्नेछ । लिभरपुल २२ अंकसहित छैटौं स्थानमा छ । चेल्सीले भने बर्नामाउथको सामना गर्नेछ ।