नेपाल भलिबल संघ

भलिबल संघको बैठक साउन पहिलो साता बस्ने

काठमाडौं । नेपाल भलिबल संघको कार्यसमितिको बैठक साउन पाँच गते हुने भएको छ ।

संघकी उपाध्याक्ष निरोज मास्केले साउन पाँच गते कार्यसमिति बैठक बस्ने र सोही बैठकले निर्वाचनको मिति तय गर्ने बताइन् ।

‘साउन चार गते प्रदेश र जिल्लाका पदाधिकारी आउनु हुनेछ । र, पाँच गते कार्यसमितिको पूर्ण बैठक बस्ने तालिका छ,’ उनले भनिन्, ‘सोही बैठकले केन्द्रिय निर्वाचन हुने मिति सार्वजनिक गर्नेछ ।’

वर्तमान कार्यसमितिको कार्यकाल सकिएको दुई वर्ष बितिसक्दा पनि संघले निर्वाचन गर्न सकेको थिएन ।

सात प्रदेश र ७७ जिल्लालाई समेट्ने उद्देश्य बनाएको संघले असार १५ गतेसम्मको लागि जिल्ला र प्रदेशको निर्वाचन गराउने अन्तिम मिति बताएको थियो । तर, ६ प्रदेश र ७७ जिल्लाको निर्वाचन सकिदाँ पनि बाग्मती प्रदेशको निर्वाचनमा भने विवाद चलेको थियो । जसका कारण निर्वाचन हुन सकेको थिएन ।

बाग्मती प्रदेशको विवादको पनि सोही बैठकमा छलफल हुने र निष्कर्ष निकाल्ने महासचिव चन्दले बताएका थिए ।

यसअघि संघको पूर्ण बैठक पोखरामा बसे पनि सो बैठकले केन्द्रिय निर्वाचन हुने मिति भने सार्वजनिक गरेको थिएन ।