नेपाल-क्यानडा क्रिकेट शृंखला

क्यानडासँग खेल्दै नेपाल

ओट्वा । आइसिसी विश्वकप क्रिकेट लिग २ को तयारीका लागि क्यानडा पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (मंगलबार) घरेलु टिमविरुद्ध पहिलो एकदिवसीय खेल खेल्दैछ ।

क्यानडाको किंग सिटीसँग मेपल लीफ क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार राति ८ः४५ बजेदेखि सुरु हुनेछ ।

नेपालले घरेलु टिमविरुद्ध दुई एकदिवसीय खेलको शृंखला खेल्ने तालिका छ ।

शृंखलाअघि नेपालले क्यानडाको स्थानीय क्लबसँग एक एकदिवसीय र एक ट्वान्टी २० अभ्यास खेल खेलेको थियो ।

जसअन्तर्गत एकदिवसीय खेलमा नेपालले स्थानीय ओन्टारियो क्लबलाई ६९ रनले र ट्वान्टी २० खेलमा ५५ रनले पराजित गरेको थियो ।

नेपाल क्यानडाबाटै विश्वकप त्रिकेट लिग २ अन्तर्गतको शृंखलाका लागि स्कटल्यान्ड प्रस्थान गर्नेछ । त्रिकोणात्मक शृंखलामा नेपालले स्कटल्यान्ड र नामिबियासँग समान दुई खेल खेल्नेछ ।

नेपाल जितसहित विश्वकप त्रिकेट लिग टु अंकतालिकामा स्थान सुधार गर्ने लक्ष्यमा रहेको छ ।