नेपाली राष्ट्रिय महिला भलिबल टिम

सुखद नतिजाका लागि निरन्तर प्रशिक्षण हुनुपर्छः प्रशिक्षक भट्ट

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोली हाल बन्द प्रशिक्षणमा छ । १९औं एसियाली खेलकुद र आगामी दक्षिण एसियाली खेलकुद (साग) को लागि महिला टोलीले जेठ ३० गतेदेखि प्रशिक्षण सुरु गरेको थियो ।

एसियाली खेलकुद चीनमा हुने भनिए पनि कोभिड १९ को प्रकोप बढ्दै गएपछि स्थगित भएको थियो ।

नेपाली महिला भलिबल टिमले लगातार दुई पटक एभिसी सेन्ट्रल जोनको च्याम्पियन र १३औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जितेका थिए । यसपटक पनि राम्रो नतिजा ल्याउने उद्देश्यका साथ एसियाली खेलकुदको नयाँ मिति तय नभए पनि महिला टिमले बन्द प्रशिक्षणको सुरुआत गरेको हो ।

एसियन खेलकुदको मिति तय भइनसक्दा पनि बन्द प्रशिक्षणमा रहेको नेपाली टिमका मुख्य प्रशिक्षक जगदीश भट्टले निरन्तर चार, पाँच महिना बन्द प्रशिक्षणमा राख्दा यसले नजितामा निकै सकारात्मक प्रभाव पार्ने बताएका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा जारी प्रशिक्षणमा उनले नयाँ तथा पुराना खेलाडीमा अहिले राष्ट्रिय टिमको अन्तिम टिममा स्थान बनाउन निकै प्रतिस्पर्धा चलिरहेको बताए ।

‘लगातारको प्रशिक्षणबाट सम्पूर्ण खेलाडीहरु निकै राम्रो हुँदै आएका छन् । प्रशिक्षणमा नयाँ खेलाडीको संख्या बढी भए पनि उनीहरुले पुराना खेलाडीलाई समेत परिवर्तन गर्न सक्ने भएका छन्,’ प्रशिक्षक भट्टले खेलाडीसँग भने, ‘यसले गर्दा पुराना खेलाडीलाई टिममा पर्दिन कि भन्ने डर पैदा गराउँछ । र, थप कडा मेहनत गर्न प्रेरित गर्दछ ।’

यसअघि चीनमा आयोजना हुने भनिए पनि कोभिड १९ को महामारीको कारण स्थगित भएको प्रतियोगिताको लागि राखेपले २३ खेलको विशेष प्रशिक्षण सुरु गर्न भनेको थियो । जसअनुसार पहिलो चरणको प्रशिक्षण जेठ २५ देखि असार २५ सम्म आयोजना हुनेछ । दोस्रो चरणमा असार २४ देखि २७ गतेसम्म खेलाडी छनोट गरिने र असार २८ देखि ३० सम्म आन्तरिक मूल्याङ्कन हुने राखेपले जनाएको थियो । तर, भट्ट भने राम्रो नतिजाका लागि खेलाडीहरुलाई लामो समयसम्म बन्द प्रशिक्षणमा राख्न चाहन्छन् ।

‘सोमबार राखेपसँग प्रशिक्षणको निरन्तरताका लागि कुरा गरेको थिए । र, उताबाट पनि सकारात्मक प्रतिकृया आएको छ,’ उनले भने ।

बन्द प्रशिक्षणमा प्रतिभा माली, अरुणा शाही, शान्ती थारु, कामना बिष्ट, उषा भण्डारी, निरुता ठगुन्ना, सफिया पुन, सुनिता खड्का, संगम महतो, कविता भट्ट, मनिषा चौधरी, निशा चौधरी, जानकी भण्डारी, प्रगती नाथ, पुजा चौधरी, लक्ष्मी चनद, पुनम चन्द, सलिना श्रेष्ठ, शान्तीकला तामाङ, सृष्टि खड्गी, आरती सुबेदी, भावना डाँगी, सरस्वती कट्टेल गरी २४ जना छन् ।