बाग्मती प्रदेश भलिबल संघ

बाग्मती प्रदेश भलिबल संघ विवादः संघको केन्द्रिय बैठकले निर्णय गर्ने

काठमाडौं । तोकिएको समयमा दुई दिन थप्दा पनि बाग्मती प्रदेश भलिबल संघको निर्वाचन हुन नसकेपछि यो विवाद नेपाल भलिबल संघको केन्द्रिय बैठकसम्म टुङ्गो नलाग्ने भएको छ ।

यसअघि १० गतेसम्म हुनुपर्ने भए पनि निर्धारित समयमा हुन नसकेपछि नेपाल भलिबल संघले १२ गतेसम्मको समयसिमा तोकेको थियो । यसमा पनि हुन नसकेपछि १५ र हिजो (बिहीबार) पनि निर्वाचन हुन नसकेपछि प्रदेश कमिटिले भलिबल संघमा हिजो नै प्रतिवेदन बुझाएको थियो ।

खेलाडीसँगको कुराकानीमा नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले बाग्मती प्रदेश भलिबल संघको विवादबारे संघको केन्द्रिय बैठकमा छलफल हुने जानकारी दिए ।

बिहीबार हुने भनिएको बाग्मती प्रदेशको चुनाव हुन नसकेपछि बाग्मती प्रदेश कमिटीका संयोजक कुमारराज सुवेदीलगायतको टिमले संघमा प्रतिवेदन बुझाएको थियो ।

‘संयोजकलगायतको टिमले हस्ताक्षर गरेर बाग्मती प्रदेशको अधिवेसनमा समस्या आएको हुनाले प्रदेश गठन गर्न सकिएन भन्ने कुराको पत्र आएकोे छ,’ उनले भने, ‘बाग्मती प्रदेश गठन नभएर हाम्रो केन्द्रिय चुनाव रोकिने भन्ने हुँदैन । किनभने ६ प्रदेश तथा जिल्लाले धमाधम प्रतिवेदन बुझाइरहेका छन् । यसको बारेमा आगामी बस्ने केन्द्रिय बैठकमा छलफल हुनेछ ।’

संघको केन्द्रिय बैठक असार महिनाको अन्त्यमा हुने महासचिव चन्दले बताए ।

प्रदेशको अध्यक्षमा दाबी गरेका मदन केसी तथा दिपक श्रेष्ठले व्यक्तिगत रुपमा महासचिवलाई पत्र बुझाएको बताएका थिए । तर, महासचिव चन्दले भने संयोजक टिमको बाहेक कसैको पत्र नआएको र आए पनि त्यो पत्र वैधानिक हिसाबमा मान्य नहुने बताए ।

‘बाग्मती प्रदेशको कार्यसमिति गठन गर्न गएकको संयोजकको टिमले नै प्रतिवदेन बुझाउने हो । उहाँले पठाएको प्रतिवेदन नै मान्य हुन्छ । आफ्नो हिसाबले पठाएको छ भने त्यसलाई हामी मान्दैनौ,’ उनले भने, ‘यो सबै कुराको छलफल संघको केन्द्रिय बैठकमा नै हुन्छ ।’