भलिबल

बाग्मती प्रदेश भलिबल संघमा विवाद, चुनाव हुन सकेन

काठमाडौं । बाग्मती प्रदेश भलिबल संघको निर्वाचन अनिश्चित बनेको छ ।

नेपाल भलिबल संघले केन्द्रिय निर्वाचनका लागि सात प्रदेश र ७७ वटै जिल्लालाई समेट्ने उद्देश्यसति असार १० गतेसम्मको अन्तिम मिति तोकेको थियो । तर, सो समयावधिममा पनि निर्वाचन नसकेपछि दुई दिनको समय थप्दै १५ गतेसम्मको समय दिएको थियो ।

७७ जिल्ला र ६ प्रदेशको निर्वाचन सकिँदा पनि बाग्मती प्रदेशको विवादका कारण निर्वाचन १५ गते पनि हुन सकेन । बुधबार हुने भनिएको बाग्मती प्रदेशको अधिवेसन वर्तमान कार्यसमिति र बाहिर रहेका आकांक्षीबीच समन्वय हुन नसक्दा रोकिएको बताइएको छ ।

वर्तमान कार्यसमितिले पुनः कार्यकाल दोहोर्याउन चाहेको र नयाँ आउन चाहनेले सबै पदमा आफ्नो व्यक्ति हुनुपर्छ भनेर विवाद गर्दा स्थगित भएको बाग्मती प्रदेश कमिटिकी सदस्य सुनकेशरी मालीले खेलाडीलाई बताइन् ।

‘हामीले दुई पक्षबीच समझदारीले निर्वाचन होस् भन्ने चाहेका थियौं । तर, उहाँहरुबीच कुरा नमिल्दा अधिवेसन बहिस्कार गरेर हिँड्नु भयो,’ उनले भनिन्, ‘हिजो स्थगित भएको मिटिङ आज (बिहीबार) बस्दैछ । जसरी भए पनि आज हामी निष्कर्ण निकाल्ने प्रयास गर्छौं ।’

यस्तै, बाग्मती प्रदेश कमिटिका अर्का सदस्य श्रीराम बोगटीले जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापाले नयाँ कार्यसमितिमा उनले चाहेका मान्छे मात्रै आउनु पर्ने असान्दर्भिक माग राखेको बताए ।

‘हामीले सक्दो मिलाउन कोसिस गरेका थियौं । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष थापाले आफू अध्यक्षमा उठ्ने बताउनु भयो । पछि आफु अध्यक्षमा नउठ्ने तर, नयाँ कार्यसमितिमा यो ठाउँमा यो मान्छे हुनुपर्छ भनेर नाम अंकित गरेर दिनुभयो,’ उनले भने, ‘त्यही भएर हिजो निर्वाचन सम्भव भएन । आज मिटिङ बस्ने भनेको छ ।’