न्यु डायमन्ड क्लब

न्यू डाइमन्ड लोकबहादुर पुन स्मृति कप च्याम्पियन

फाइल फोटो ।

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा हराउँदै आइतबार न्यु डाइमन्ड स्पोटर्स क्लब लोकबहादुर पुन स्मृति कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

चितवनको सिमलटाँडी, खैरेनी–९ पुन समाजको कार्यलय परिसरमा सम्पन्न फाइनल खेलमा घरेलु प्रतियोगिताको चिरप्रतिद्धन्दी टोली न्यु डाइमन्डमाथि पुलिसले पहिलो सेट १८–२५ ले जिते पनि दोस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै डाइमन्डले २५–१३ को फराकिलो अंकमा हरायो ।

तेस्रो सेटमा आफ्नो लय गुमाएको डाइमन्डले १९–२५ हार्‍यो । तर, चौथों र अन्तिम निर्णायक सेटमा डाइमन्डले क्रमश: २५–२३, १५–९ ले जित्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो ।

कर्पाकेली पुन युवा क्लबको आयोजनामा फागुन २५ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब, पुलिस, न्यु डाइमन्ड, ढोरपाटन स्पोर्टस् क्लब, वालिङ्ग भलिबल क्लब, पाथीभरा टाईगर भलिबल र आयोजक कर्पाकेली पुन युवा क्लब सहभागी थिए ।

प्रतियोगिताको विजेता न्यु डाइमन्डले दुई लाख रुपैंया र उपविजेता पुलिसले एक लाख रुपैंया प्राप्त गरेका छन् ।